सकियाे संघीय संसद्को पाँचौं अधिवेशन

काठमाडाै‌ं। संघीय संसद्को पाँचौं अधिवेशन २४ चैत राति १२ बजेदेखि अन्त्य भएको छ।

विधेयक अधिवेशनका रूपमा लिइने सो अधिवेशनमा प्रतिनिधि सभामा कूल २५ वटा बैठक बस्याे भने राष्ट्रिय सभातर्फ कूल २६ बैठक बसेका थिए।

४ पुसदेखि शुरू भएको अधिवेशनले प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्वाचित गरेको थियो ।

यस्तै राष्ट्रिय सभामा १८ सांसदको बिदाइ र नयाँ १८ निर्वाचित सदस्यसमेत पाएको छ। कूल ९२ दिन सञ्चालित अधिवेशनमा कूल १७ वटा विधेयक दर्ता भएका थिए। त्यसमा प्रतिनिधि सभातर्फ कूल ६ विधेयक दर्ता भए। त्यसमा एक एक गैरसरकारी विधेयकसमेत छ। यस्तै राष्ट्रिय सभामा कूल ११ विधेयक दर्ता भए।

सचिवालयका अनुसार दुवै सदनबाट पारित (प्रमाणीकरण योग्य) भएका कूल चार विधेयक छन्। यस्तै प्रतिनिधि सभाबाट मात्र पारित विधेयकको संख्या आठ छ।

राष्ट्रिय सभाबाट मात्र पारित विधेयक भने कूल ९ छन्। संघीय संसद्‍मा विचाराधीन विधेयकको संख्या ३८ छन्। त्यसमा प्रतिनिधि सभाको समितिमा १३ र राष्ट्रिय सभाको समितिमा ६ विधेयक छन्। सन्देश टेबुल हुन बाँकी विधेयकको संख्या चार छ।

यस्तै राष्ट्रिय सभामा दर्ता भएको ‘अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्माे अभिसन्धि’ दुवै सभाबाट अनुमोदन भएको छ। जरुरी सार्वजनिक महत्त्वको प्रस्तावतर्फ प्रतिनिधि सभामा सांसद् बिन्दा पाण्डेले प्रस्तुत गरेकाे ‘बोक्सा–बोक्सी, दाइजोलगायतका कुरीति तथा एसिड प्रहारजस्ता आपराधिक अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा, प्रचलन कुरीति र विकृतिको अन्त्यका लागि कानूनी कारबाही र विशेष अभियान सञ्चालन गर्न आवश्यक भएको सम्बन्धी’ छलफल भई मन्त्रीबाट जवाफ दिने काम सम्पन्न भएको छ।

त्यस्तै सांसद् गगन थापाले प्रस्तुत गरेकाे ‘कोरोनासँग जुध्न सरकारले गरेको तयारी, अस्पतालको अवस्थाबारे सदनलाई जानकारी दिनुपर्ने तथा सबै जुटेर राष्ट्रिय संकल्प गरी अघि बढ्नुपर्नेसम्बन्धी प्रस्तावमाथि छलफल भई मन्त्रीबाट जवाफ दिने कामसमेत सम्पन्न भएको छ।

राष्ट्रिय सभामा खीमलाल भट्टराईले पेश गरेकाे कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको सीमा व्यवस्थापनसम्बन्धी संकल्प प्रस्ताव छलफल भई सभाले स्वीकृत गरेको छ। सांसद् सुमनराज प्याकुरेलले ‘तराई–मधेशको बाढी तथा डुबानसम्बन्धी समस्याहरुको दीर्घकालीन समाधान’सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि समेत छलफल भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्