सर्वोच्चको आदेश- 'सीमामा रोकिएलाई नेपाल आउन दिनू, सम्भव नभए भारतमै खान, बस्न र उपचारको व्यवस्था गर्नू'

काठमाडौं। सर्वोच्च अदालतले लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्द गरिएका कारणा नेपाल-भारत नाकामा रोकिएका नेपालीलाई स्वदेश फर्कन दिन आदेश दिएको छ। इच्छुक नेपालीलाई नेपाल ल्याएर अनिवार्य क्वारेन्टाइनमा राख्न तथा त्यसो गर्न सम्भव नभए भारतमै खान, बस्न र उपचारको व्यवस्था गर्न आदेश दिएको हो।

सीमामा रोकिएका नागरिकलाई नेपाल आउन दिनुपर्ने माग गर्दै दायर भएका दुईवटा रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको इजलासले विदेशबाट नेपाल आएको अबस्थामा आएका सम्पूर्ण व्यक्तिहरुको नाम, थर, वतनसहितको अद्यावधिक लगत राखेर मात्र नेपाल प्रवेश गराउने व्यवस्था मिलाउन र उनीहरूलाई क्वारेन्टाईनमा राख्न आदेश दिएको हो।

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने, स्वास्थ्य सेवामा समान पहुँच हुने, कानूनको दृष्टिमा समान हुने व्यवस्था गरेको उल्लेख गर्दै सर्वोच्च अदालतले 'नेपालीहरू संसारको जुनसुकै भूभागमा बसेको भए पनि उनीहरूलाई भोक र रोगले मर्ने अवस्था आउन नदिने राज्यको दायित्वबाट सरकार बिमूख रहन सक्दैन' भनेको छ।

संक्रामक रोगको महामारीको समयमा संक्रमणलाई समुदायमा फैलिन नदिन सरकारले अवलम्बन गरेको विधीमा अनिवार्य रुपमा सहभागी भई सरकारी निर्देशनको पूर्ण पालना गरी सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने भन्दै सर्वोच्च अदालतले विदेशबाट औउने संभाव्य संक्रमित नागरिकले तोकिएको अवधिसम्म परिवार र समाजमा घुलमिल नभई क्वारेन्टाईनमा बस्न भनेको छ।

'कोभिड-१९ का कारण लकडाउनको अवस्थामा रहेको समयमा नेपाल आफ्नो नागरिकको सुरक्षामा प्रयत्नसिल रहे पनि त्यो प्रयास प्रयाप्त रहेको देखिन आएन', सर्वोच्चले आदेशमा भनेको छ।

लकडाउनको अवस्थामा नेपालीहरु विश्वको जुनसुकै कुनामा रहेको भएतापनि उनीहरूलाई खान, बस्न र स्वास्थ उपचार पाउन समस्या नहोस् भन्ने ज्ञारेण्टी गर्न भन्दै सर्वोच्च अदालतले पाँच बुँदे आदेश जारी गरेको हो।

यस्तो छ विदेशमा रहेको नेपालीको संरक्षणमा सर्वोच्च अदालतले दिएको आदेश:

१) बिदेशमा खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा बिपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरि नेपाल फर्कन चाहने ईच्छुक नेपाली नागरिकहरूलाई सम्वन्धित मुलुकसंग कुटनैतिक माध्यमवाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू गराउनू, उक्त कार्य तत्काल संम्भव नभएको अबस्थामा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरुको हक हितको रक्षा गर्ने ब्यबस्था मिलाउन आवश्यक पहल गर्नू।

२) यसरी सो बमोजिम नेपालीहरू विदेशबाट नेपाल आएको अबस्थामा आएका सम्पूर्ण व्यक्तिहरुको नाम, थर, वतनसहितको अद्यावधिक लगत राखेर मात्र नेपाल प्रवेश गराउने व्यवस्था मिलाउनू। निजहरूलाई क्वारेन्टाईनमा राख्नू।

३) नेपाल भारतको सिमामा रहेका नेपाल आउन ईच्छुक नेपाली नागरिकहरूलाई नेपालमा ल्याई निश्चित समय क्वारेनटाईनमा राख्ने ब्यबस्था मिलाउनू, त्यस्तो प्रवन्ध गर्न तत्काल सम्भव नभएमा भारत सरकारसँग समन्वय गरी लकडाउन अवधिसम्मका लागि निजहरुलाई खाने, बस्ने तथा उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नू।

४) क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई डब्लुएचओको मापडण्डअनुसार स्वास्थ उपचार लगाएतका सेवा प्रदान गर्ने ब्यबस्था गरि क्वारेन्टाईनलाई व्यवस्थित तवरले संचालन गर्ने व्यवस्था मिलाउनू।

५) विदेशमा रहेका नेपालीहरुको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणवाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिकहरु रहेको मुलुकसँग समन्वय गरी नेपाली नागरिकहरुको विदेशको बसाई नियमित गर्ने व्यवस्था मिलाउनू।

प्रतिक्रिया दिनुहोस्