एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन सुदूरपश्चिम पठाइयो, आजैदेखि संचालन गरिने

काठमाडौं। सरकारले सुदूरपश्चिम प्रदेशमा धेरैजनाको एकै पटक कोभिड-१९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन पठाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको एक थान आरटीपीसीआर मेसिन धनगढी लगिएको हो।

आज बिहानै नेपाली सेनाको स्काइट्रकमा राखेर उक्त पीसीआर मेसिन धनगढी लगिएको छ।

कंचनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद डा.दीपकप्रकाश भट्टले सुदूरपश्चिममा संक्रमणको जोखिम उच्च देखिएको र त्यहाँ परीक्षणको दायरा बढाउनुपर्ने भएकाले मन्त्रालयहरुसँग समन्वय गरेर थप मेसिन लगिएको जानकारी दिए।

“कृषि र स्वास्थ्यमन्त्रीसँग यसबारे गहन रुपले कुराकानी गरेपछि अहिले कोभिड-१९ परीक्षणकै कामका लागि प्रयोग गर्ने गरी कृषिमन्त्रालयले त्यहाँ मेशिन जडान गर्न लागेको हो”, उनले भने, “यो ठूलो संख्यामा नमूना परीक्षण गर्न सक्ने मेसिन भएकाले अब त्यहाँ केही सहज हुनेछ।”

उनले यो मेशिनले धनगढीमा परीक्षण थालेपछि त्यहाँ रहेको मेसिन महाकाली अंचल अस्पतालमा जडान गरेर परीक्षणको व्यवस्था मिलाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए।

उक्त मेशिन पशुपन्छी रोग अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरिनेछ।

केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशालाका प्रमुख सहसचिव डा. डिकरदेव भट्टले त्यहाँ कोभिड- १९ को जोखिमलाई ध्यानमा राखेर प्रयोगशालाले अहिले नै मेसिन जडान गर्न लागेको जानकारी दिए।

“हाम्रो प्रयोगशालामा अहिले काम चलिरहेकै थियो। तर संक्रमणको त्यहाँ जोखिम देखिएपछि अहिले नै जडान गर्न लागेका हौं।”, उनले भने, “अहिलेको जोखिम अवधीभर हाम्रो प्रयोगशालामा जडान हुने मेसिन त्यहीको प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि प्रयोग गर्नेछ।”

आजै मेसिन जडान भएर परीक्षण थालिनेछ।

उनले उक्त मेसिन तीनघण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको रहेको बताए।

चितवनको प्रयोगशालामा रहेको मेसिन पनि अहिले कोभिड- १९ को नमूना परीक्षणकै काम गरिरहेको उनको भनाई छ।

केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एक धनगढी पठाइएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

सुदूरपश्चिम प्रदेशका प्रमुख स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आरटीपीसीआर मेसिन जडान भएपछि धेरै सहज हुने बताए।

“अहिले यहाँ जडान भएको मेसिनको परीक्षण क्षमता १० वटा मात्रै हो।”,उनले भने, “यो ठूलो संख्यामा परीक्षण गर्नसक्ने क्षमता भएको मेसिन भएकाले धेरै सहज हुन्छ।”

सुदूरपश्चिममा संक्रमितको संख्या ४ जना पुगेपछि सरकारले त्यहाँ र्‍यापिड टेस्ट परीक्षण शुरू गरिसकेको छ।

अब यो नयाँ आरटीपीसीआर मेशिनले परीक्षण शुरू गरेपछि त्यहाँ परीक्षण तीब्र हुने र त्यसबाट संक्रमति भए/नभएको पहिचान गर्न सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्