'वडा अध्यक्षको गाडीमा भेटिएको बन्दुक वैध भएपनि लकडाउनको बेला बोक्न नपाइने'

कैलाली। वडा अध्यक्षको भारतीय नम्बरको गाडीबाट बन्दुक भेटिएको विषयमा कंचनपुरका सुरक्षा अधिकारीहरूले वैध भन्दैमा लकडाउनको समयमा हतियार बोक्ने अधिकार नभएको बताएका छन्।

हिजो, कैलाली गोदावरी नगरपालिका १० का वडा अध्यक्ष रविन्द्र शाहीले प्रयोग गर्दै आएको डिएल-३ सिसिआर ३९९७ को भारतीय गाडी, एक थान राईफल, त्यसमा प्रयोग हुने १४ गोली, एक थान एअरगन र त्यसमा प्रयोग हुने १९६ छर्रासहित कंचनपुरको कृष्णनगर नगरपालिकाबाट सशस्त्र प्रहरीले बरामद गरेको थियो।

वडा अध्यक्ष शाहीलाई भने पक्राउ गरिएको छैन।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरबहादुर साहुले इजाजतपत्र हतियार भए पनि खुलेआम बोकेर हिड्ने अधिकार सुरक्षाकर्मीलाई मात्र भएको बताए।

कंचनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले पनि लकडाउनमा भारतीय नम्वरको गाडी सञ्चालनमै रोक लगाएको बताएका छन्।

उनले भने, "सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक लगाएको बेला अर्को जिल्लामा आएर हतियार बैध नै भए पनि बोक्ने अधिकार कसैलाई नभएको जानकारी दिए।

वडाअध्यक्ष शाहीले भने आफुसँग दुवै हतियारको इजाजत पत्र रहेको बताएका छन्।

उनले आफू पीपीई लिन गएको बेला प्रहरीले भारतीय नम्बरको गाडी देखेर चेकजाँच गरेको बताउदै हतियार बैध बताउँदा बताउँदै गाडी र हतियार लिएर गएको गुनासो गरे।

"लकडाउनको बेला हतियार बोक्न नपाइने मलाई जानकारी भएन, पहिले देखि नै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्दै आएको थिएँ", उनले भने।

प्रतिक्रिया दिनुहोस्