सेनाको जहाजबाट धनगढी पुर्याइयो कोभिड-१९ परीक्षण गर्ने मेसिन

कैलाली । नेपाली सेनाको स्काई ट्रकमार्फत एकै पटक धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन काठमाडौंबाट धनगढी ल्याइएको छ ।

आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण लिएर आएको सेनाको जहाज भर्खरै धनगढी विमानस्थलमा अवतरण भएको हो ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको आरटीपीसीआर मेसिन सुदूरपश्‍चिममा पठाएको हो ।

यो मेसिन धनगढीमा जडान गरिने छ । उक्त मेसिनले तीन घण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने बताइएको छ ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको पीसीआरबाट दैनिक ५ देखि ६ जनाको मात्र थ्रोट स्वाबका नमूना परीक्षण हुने गरेको छ ।

सेनाको जहाजमार्फत डोटीका लागि स्वास्थ्य उपकरणसमेत आएको छ ।

उक्त जहाज हिजो र आज कैलाली, कञ्‍चनपुर र अछाममा संकलित थ्रोट स्वाबको नमूना लिएर काठमाडौं फर्किने छ ।

अछाममा बिहानै प्राविधिकसहित पुगेको नेपाली सेनाको हेलिकोप्टरले त्यहाँ संकलित स्वावहरू धनगढी ल्याउने छ । साथै धनगढीमा संकलित १३० नमूना पनि स्काई ट्रकमार्फत काठमाडौं लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्