आपूर्तिमन्त्रीलाई व्यवसायीको ब्रिफिङ- ‘खाद्यान्न प्रशस्त मौज्दात छ, चिन्ता लिनु पर्दैन’

काठमाडौं। लकडाउनपछि नेपाली बजारमा खाद्यान्‍नको कुनै समस्या नभएको खाद्य किराना व्यवसायीहरूले बताएका छन्।

आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँगको भेटमा व्यवसायीहरूले २५/३० दिन पुग्ने खाद्यान्न मौज्दात रहेको जानकारी गराएका हुन्।

दैनिक उपभोग्य सामानको मौज्दातको अवस्था बुझ्‍न नेपाल खाद्य किराना व्यवसायी संघमा पुगेका मन्त्रीलाई अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाद्यान्नको आपूर्तिमा कुनै समस्या नभएको भनी आश्‍वस्त पारेका छन्।

भारतबाट नियमित रूपमा दैनिक उपभोग्य वस्तुको आयात भइरहेकोले उपभोक्ताको माग बमोजिम नै पुर्‍याउन सकिने उनले बताएका छन्।

तराईमा रहेका दाल, चामल उद्योगमा पनि प्रशस्त भण्डारण रहेकाले अभाव नहुने संघले जनाएको छ।

तर, भारतबाट दैनिक भइरहेको आयातमा अवरोध भएमा भने बजारमा अभाव हुन सक्ने भन्दै त्यसतर्फ भने ध्यान दिन मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

मन्त्री भट्टले व्यवसायीरूसँग सामानको ढुवानी र आपूर्ति सहज बनाउन मन्त्रालय लागिरहेको बताएका छन्।

उनले खाद्यान्न आयात गर्ने सवारीलाई पासको व्यवस्था गर्न लागेको जानकारी दिए।

संकटको यो बेला सहयोग गर्न आग्रह गर्दै व्यवसायीको साथ र सहयोगको मूल्यांकन सरकार र जनताले गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्