कोभिड-१९ नियन्त्रणका लागि म्यादी प्रहरी भर्ना गर्दै भोजपुरको हतुवागढी गाउँपालिका

भोजपुर। कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनलाई कडाईको साथ पालना गराउन भोजपुरको हतुवागढी गाउँपालिकाले म्यादी प्रहरी भर्ना प्रक्रिया शुरू गरेको छ।

गाउँपालिकाले सार्वजनिक सूचना निकालेर यसअघि निर्वाचनमा खटिएका तथा सेना प्रहरीबाट पेन्सनमा निस्किएकाहरूका लागि दरखास्त आव्हान गरेको छ।

उनीहरूलाई गाउँपालिका आफैँले पारिश्रमिक दिनेछ।

गाउँपालिकाको हिजो, २५ चैतमा बसेको बैठकले गाउँपालिका छिर्ने नाकामा सावधानी अपनाउँदै सतर्कता बढाउन म्यादी प्रहरी नियुक्त गर्ने निर्णय गरिएको अध्यक्ष प्रेमकुमार राईले देखापढीलाई बताए।

उनका अनुसार तराई र धनकुटाबाट गाउँपालिका छिर्ने सुनबालुवा, लामीबगर, भँगालेटार, मचुवा, सिम्ले र चुहार नाकामा म्यादी प्रहरी परिचालन गर्न लागिएको छ।

पछिल्लो समय कैलालीमा एकजनामा कोभिड-१९ लोकल केससमेत देखिएपछि सरकारले २२ चैतदेखि एक स्थानीय तहबाट अर्को स्थानीय तह, जिल्ला-जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमासमेत आवागमन बन्द गरेको छ।

यही निर्णयलाई पालना गराउन आफ्नो क्षेत्रमा पर्याप्त जनशक्तिमा सुरक्षाकर्मी नभएकोले जिल्ला प्रशासन कार्यालयसँग स्वाकृती लिएर म्यादी प्रहरी भर्ना प्रक्रिया थालिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्