कोभिड-१९ को महामारीमा बिना सूचना काममा नआउने पाँच डाक्टर कारवाहीमा

काठमाडौं। लुम्बनी प्रादेशिक अस्पतालले बिना सूचना काममा नआएका पाँच जना चिकित्सकलाई सेवाबाट हटाएको छ। दैनिक ज्यालादारीमा काममा राखिएका पाँच जना चिकित्सकहरू लामोसमय काममा नआएकपछि हटाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले देखापढीलाई बताए।

लुम्बिनी प्रादेशिक अस्पतालमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो।

अस्पतालमा कार्यरत चिकित्सकको विवरण र दैनिक हाजिरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाउनुपर्ने र नियमित काममा नआएकालाई हटाएर त्यसको जानकारी पठाइएको मेसु खनालले बताए।

"संकटका बेलामा सेवानिवृत्त भएका डाक्टरहरूलाई त अनुरोध गरेर काममा बोलाउनु परिरहेको छ," मेसु खनालले भने, "भएकै डाक्टरहरू काममा आउँदैनन् भने उनीहरूलाई के का लागि राखिराख्ने ?"

संकट व्यवस्थापनका लागि दैनिक ज्यालादारीमा चिकित्सकहरूलाई काममा लगाउन पाउने अधिकार मेसुलाई भएको र त्यसैअनुरूप उनीहरूलाई पनि काममा राखिएकोमा बिना सूचना अनुपस्थित भएपछि सेवाबाट हटाइएको मेसु खनालले बताए।

अन्य अस्पतालले ज्वरोका बिरामीसमेत लिन छाडेका तथा कोभिड-१९ को लक्षण देखिएका बिरामीलाई राख्ने आइसोलेन कक्षहरू पनि नभएका कारणा लुम्बिनी प्रादेशिक अस्पतालमा चाप छ। "प्रादेशिक अस्पताल भएका कारण पनि यो क्षेत्रमा स्वास्थ्य सेवाको नेतृत्व गरिरहनु परेको छ, यस्तो अवस्थामा आफैं पनि जिम्मेवार भएर काममा आउनुपर्थ्यो," उनले भने। काममा नआएका पाँच जना चिकित्सकलाई सेवाबाट हटाए पनि उनीहरूको ठाउँमा कसरी पूर्ति गर्ने भन्नेबारे अस्पतालसँग कुनै योजना छैन।

अहिले स्वास्थ्यकर्मीहरू नपाइने कारण पनि तत् तत् स्थानहरूमा तत्तकाल परिपूर्ति गर्न गाह्रो हुनेछ।

प्रतिक्रिया दिनुहोस्