जनप्रतिनिधिले गरे घरभाडा नलिने घोषणा

जुम्ला। चन्दननाथ नगरपालिका-९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महीनाको भाडा नलिने घोषणा गरेका छन्।

वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित दुई वटा घरको चैत महीनाको घरभाडा नलिने जनाएका हुन्। उनी स्थानीय तहको निर्वाचन २०७४ मा चन्दननाथ नगरपालिका–९ मा वडाध्यक्षका रूपमा विजयी भएका थिए।

“सबै घरपरिवारको सल्लाहअनुसार भाडा छुट दिने निर्णय गरेका हौँ। कोरोना सङ्क्रमण फैलिने त्रासले मुलुक अहिले लकडाउनमा छ। नेपाल आर्थिक सङ्कटमा गुज्रिरहेको छ”, उनले भने, “यस्तो अवस्थामा नेपाल सरकारले घरभाडा छुट दिन आह्वान गरेको छ, हाम्रो घरपरिवारले पनि एक महीनाको घरभाडा नलिने निर्णय गरेको हो।”

नेपालगञ्ज र जुम्ला गरी दुई घरमा १० जनालाई १० कोठा भाडामा दिइएको छ। उनलाई मासिक ३१ हजार ५०० रूपैयाँ घरभाडा आउने गरेको थियो। चैत महीनाको घरभाडासहित पानी बिजुली सबै छुट दिने उनले बताए।

त्यसैगरी यसअघि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नो काठमाडौंमा रहेको घरमा बस्नेसँग एक महीनाको भाडा नलिने घोषणा गरेका थिए।

काठमाडौंको टोखा नगरपालिका–८ रमणबस्ती स्थायी घर भएका प्रहरी नायब उपरीक्षक धामीले चैत महीनाको घरभाडा नलिने घोषणा जुम्लाबाटै गरेका हुन्।

आफ्नो घरका ६ कोठा भाडामा लगाएको उनले बताए। “प्रतिकोठा मासिक साढे तीन हजारका दरले भाडा लिने गरेको थिएँ, यो चैत महीनाको भाडा लिन्नँ”, डीएसपी धामीले भने। रासस

प्रतिक्रिया दिनुहोस्