केरलामा बन्यो ‘कोरोना गेट’

केरला (भारत)। कोरोना भाइरसको संक्रमण (कोभिड-१९) बाट बच्‍ने उपायको खोजीमा संसारभर विभिन्न प्रयोग र परीक्षण भइरहेका छन्। त्यसैको एक कडी हो, भारतको केरलामा बनाइएको ‘कोरोना गेट’ पनि।

तिरुअनन्तपुरमस्थित चित्रा तिरुनाल इन्स्टिच्‍युट अफ मेडिकल साइन्सेसमा एक वाकथ्रु गेट तयार पारिएको छ, जसलाई नाम दिइएको छ- ‘चित्रा डिसइन्फेक्सन गेटवे’। बीबीसी हिन्दी सेवाका अनुसार अस्पतालमा आउन-बाहिरिने सबैले सोही गेट हुँदै गुज्रिनुपर्ने नियम लगाइएको छ।

अस्पतालका निर्देशक आशा किशोरका अनुसार गेटभित्र प्रवेश गर्ने व्यक्तिले पाँच सेकेन्डसम्म हल्का कुहिरो लागेजस्तो महसुस गर्छ, तर कुनै गन्ध आउँदैन र एलर्जी पनि हुँदैन। इन्जिनियर जतिन कृष्णनको भनाइमा गेटभित्र हाइड्रोजन र अक्साइडको मिश्रण तयार पारिएको छ।

उनका अनुसार कुनै व्यक्ति गेटबाट बाहिरिनासाथ अल्ट्राभाइलेट किरण निस्किन्छ र गेटवेलाई संक्रमणमुक्त बनाउँछ। मानिस र गेटवेलाई संक्रमणमुक्त गर्ने प्रक्रियामा ४० सेकेन्ड लाग्ने कृष्णन बताउँछन्।

अस्पतालका निर्देशक किशोरका अनुसार गेटवेमा हाइड्रोजनमा अक्साइड मिश्रित गर्ने मापदण्ड अमेरिकी संस्था अक्युपेसनल सेफ्टी हजार्ड्स एडमिनिस्ट्रेसनले तय गरेअनुसार मिलाइएको छ। सोही संस्थाले रसायनको प्रयोगका नियम निर्धारण गर्ने गर्छ।

हाल सामान्य हिसाबबाट बनाइएको गेटवेको मूल्य १० हजार भारतीय रुपैयाँ छ। त्यसमा अझ राम्ररी साजसज्जा गर्ने हो भने एउटा गेटको मूल्य २५ हजार भारुसम्म पर्ने कृष्णन बताउँछन्।

प्रतिक्रिया दिनुहोस्