सुरक्षा संवेदनशीलतामा प्रश्न उठेपछि जुमले फेसबुकका पूर्व सुरक्षा प्रमुखलाई बनायो सल्लाहकार

काठमाडौं। कोभिड-१९ का कारण संसारको आधा जनसंख्या लकडाउनमा बस्न बाध्य भइरहेको बेला एउटा नयाँ इन्टरनेट कम्पनी भने संसारभरी फैलिरहेछ। त्यो हो जुम (Zoom)। सजिलैसँग भिडियो मिटिङ गर्न सकिने भएकाले जुम एप्सको प्रयोग बढिरहेछ। कर्पोरेट हाउसका बैठकदेखि विश्वविद्यालयका कक्षाहरू यही एप्समार्फत् सञ्चालन हुन थालेका छन्।

लोकप्रियता बढ्दै गइरहेको बेला जुमले भने एउटा कठोर प्रहार खप्नुपरेको छ।

२४ चैतमा गुगल कम्पनीले आफ्ना कर्मचारीहरूलाई कर्पोरेट ल्यापटपबाट जुम हटाउन लगायो। उसले जुमको सुरक्षा जोखिम भएको भन्दै आफ्ना कर्मचारीलाई यो एप्सको प्रयोग गर्न प्रतिबन्ध लगाएको हो।

त्यतिमात्रै होइन अन्य संस्थाहरूले पनि जुमको सुरक्षामाथि प्रश्न उठाइहेका छन्। ताइवान र जर्मनीमा जुम प्रयोग गर्न पूर्ण निषेध गरिएको छ।

क्यालिफोर्नियाको बर्केली हाइ स्कुलका अधिकारीहरूले जुमको पासवर्डयुक्त बैठकमा ‘नग्न वयस्क’हरूको प्रवेश भएपछि यो एप्स प्रयोगमा निषेध लगाइएको छ।

आफ्नो एप्स प्रयोगमा सुरक्षा प्रत्याभुती हुन नसकेको आरोप लागेपछि जुम भिडिओ कम्युनिकेसन्स इन्कले आज फेसबुकका पूर्व सुरक्षा प्रमुख एलेक्स स्टामोसलाई सुरक्षा र गोपनीयताका लागि सल्लाहकारमा नियुक्त गरेको छ।

सुरक्षा सम्बन्धि समस्या सुल्झाउन जुमले ९० दिनको योजना बनाएको छ। उसले सञ्चार सुरक्षाका उच्च अधिकारीहरू, प्राविधिकहरू सहितको काउन्सिल बनाएको छ। यो काउन्सिलले गोपनीयता, सुरक्षाा र अन्य प्राविधिक समस्याको निदान गर्ने विश्वास गरिएको छ। -रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्