तातोपानी नाका खुल्यो, रसुवागढी खोल्न चिनियाँ पक्ष नै अनिच्छुक

काठमाडौं। चीनसँगका दुईमध्ये तातोपानी नाकाबाट सामान आउन थालेको छ भने रसुवागढी नाका खुल्ने-नखुल्ने अझै अनिश्‍चित छ।

सरकारले अत्यावश्‍यक सामग्री आयात गर्न चीनतर्फका दुवै नाका खोल्ने निर्णय गरेको थियो। तर, चिनियाँ पक्षले तत्काल रसुवागढी खोल्न अनिच्छा देखाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ चैतमा दुवै नाका खोल्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्राचार गरेको थियो।

तातोपानी नाका सञ्‍चालनमा आएको र रसुवागढीको विषयमा छलफल जारी रहेको वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए।

मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षले अत्यावश्‍यक सामग्री मात्रै आयात गर्ने शर्तसहित अहिलेका लागि तातोपानी खोल्न दिने बताएको छ।

सिन्धुपाल्चोकमा पर्ने तातोपानीबाट भने २६ चैतमा २९ कार्टुन सामग्री भन्सार जाँचपास भएर आएका छन्। त्यसमध्ये सात हजार पाँच सय थान मास्क र केही सेनिटाइजर रहेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

१६ माघयता तातोपानी भन्सारबाट सामान भित्रिएको यो पहिलोपटक हो। हुबेई प्रान्तको वुहान शहरमा कोरोना भाइरसको संक्रमण शुरु भएपछि चीनले नाकाबाट हुने आयात-निर्यात बन्द गरेको थियो।

तातोपानी हुँदै सामान आउन थालेपछि व्यवसायीहरू सम्पर्कमा आउन थालेको भन्सार प्रमुख खत्रीले बताए।

उनले भने, “सिल्क ट्रेडिङले केही सामग्री ल्याउन लागेको बताएको छ। सरकारलाई उपलब्ध गराउने गरी ल्याउन लागिएको उक्त मेडिकल सामाग्री २८ चैतसम्म तातोपानी भन्सार कार्यालयमा आइपुग्‍ने व्यवसायीले जानकारी गराएका छन्।”

रसुवागढी नाका खोल्ने विषयमा रसुवाका वडास्तरीय जनप्रतिनिधिहरूले विरोध गर्दै आएका छन्। चीनबाट सामान ल्याउँदा कोरोना भाइरस संक्रमणको डर हुने बताउँदै तत्काल सामान आउन नदिने उनीहरूले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्