धनगढीमा उपचार गराइरहेका कोरोना संक्रमित चारैजनाको स्वास्थ्य सामान्य

कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत् कोरोना संक्रमित चारैजना बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्‍न चिकित्सकले बताएका छन्।

७ चैतमा दुबई-दिल्ली हुँदै काठमाडौ भएर धनगढी आएका धनगढी उपमहानगरपालिका-५ का युवा, उनकी भाउजू र ११ चैत मा भारतबाट गौरिफन्टा नाका हुँदै आएका लम्किचुहा नगरपालिकाका एकजना र १४ चैतमा कंचनपुरको ब्रम्हदेव नाका हुँदै आएका बेदकोट नगरपालिकाका एकजनाको यस अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. शेर बहादुर कमरले देखापढीलाई बताए।

उनका अनुसार सामान्यतया कोभिड-१९ को लक्षण देखिएको ८/१० दिनमा बिरामीमा परिवर्तन देखिने गरेकोमा यहाँ उपचाररत् चारैजनाको अवस्था भने पहिलेको जस्तै सामान्य छ।

धनगढीका पहिलो कोरोना संक्रमीतको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ देखिएको थियो।

सेती प्रादेशिक अस्पतालका प्रबक्ता डा. जगदीश जोशीले बाँकी तीनजनाको नमूना संकलन गरेर पुन: परीक्षणको लागि काठमाडौं पठाएको बताउदै रिपोर्ट आइनसकेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्