कर्णालीका हिमाली जिल्लाका स्वास्थ्यकर्मी भन्छन्- ‘कपडाको मास्क सिलाएर लाउन बाध्य छौं’

सुर्खेत। कर्णाली प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव रहेका गुनासो गरेका छन्।

विशेष गरी हिमाली जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सो गुनासो राखेका हुन्।

पीपीई बिनानै बिरामीलाई जाँच गर्नुपरेको तिला गाउँपालिका-९, राँसा स्वास्थ्यचौकी जुम्लाका प्रमुख हर्कबहादुर रावतले बताए।

“स्वास्थ्य क्षेत्रमा आइपर्ने विषम् परिस्थितिमा जहिले पनि पहिलो घेरामा रहेर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मी नै हुन्छन्”, रावत भन्छन्, “यस्ताे अवस्थामा स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षा सामग्रीसहित हुनुपर्छ तर हामी पीपीई, एन-९५ मास्कका कुरा छोडौँ, सर्जिकल मास्क नहुँदा गाउँमै कपडाको मास्क सिलाएर लाउन बाध्य छौँ। यस्तो स्थितिमा स्वास्थ्यकर्मीले कस्तो मनस्थितिले काम गर्न सक्छन् ?”

सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताभन्दा पनि स्वास्थ्य सामग्रीले मजबुत बनाउँदा कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सबैलाई सहयोग पुग्ने उनको भनाइ थियो। “अर्काको सुरक्षा दिने हामी आफैं असुरक्षित छौं। स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी, छाती दुख्ने समस्याका बिरामी आउने क्रम बढेको छ। उनीहरूलाई जाँच गर्न डर लागेर आउँछ”, उनी भन्छन्।

स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले महत्वपूर्ण केसको जाँचमा लगाउनेगरी जिल्लाका ३० वटा स्वास्थ्यचौकीमा एक/एक पीपीई सेट उपलब्ध गराइएको जानकारी दिए। तर, स्वास्थ्यकर्मीहरू भने १० जना कर्मचारी रहेकाे स्वास्थ्यचाैकीमा एउटा पीपीईले सेवा दिन कठिन भएकाे बताएका छन्।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्य सामग्री किन्नका लागि प्रत्येक जिल्लामा दुई लाख ५० हजार रूपैयाँका दरले पठाइएको बताए। “स्वास्थ्य सामग्री अभाव भएकाले सरकारले सामग्री खरिद गरिरहेको छ”, उनले भने, “अब हामी जतिसक्दो चाँडो प्रदेशभरिका स्वास्थ्य संस्थामा पठाउँछौं।” रासस

प्रतिक्रिया दिनुहोस्