बुद्धको काउन्टर तोडफोड गर्ने सांसद्ले माफी मागे अनि विमान चढ्न पाए

आज बिहान ११ः४० मा जनकपुरदेखि काठमाडौं उडने बुद्ध एअरको ५१० एटीआर ७२ का लागि बोर्डिङ पास लिएर यात्रुहरू विमानको पर्खाइमा थिए ।

सोही उडानको प्रतिक्षामा विमानस्थलको विशिष्ट कक्षमा थिए– राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद साह ।

उडान केही ढिला हुने भन्दै बुद्ध एअरको काउन्टर रुमले यात्रुलाई जानकारीसमेत गराइरहेको थियो ।

तर, एकाएक वातावरण बिग्रियो । विमानको प्रतिक्षामा रहेका यात्रुले के भयो भेउ पाउनै सकेनन् ।

यात्रुले घटनाबारे थाहा पाउँदासम्म विशिष्ट कक्षबाट सांसद साह बाहिर निस्केर बुद्ध एअरको काउन्टरमा लाती बजारिसकेका थिए । सांसद् साहको प्रहारबाट काउन्टरको सीसा फुटेको छ ।

विशिष्ट कक्षमा बसेको व्यक्ति काउन्टरमा पुगेर तोडफोड गरेपछि बुद्ध एअरका कर्मचारी अलमलमा परे । माहोल केहीबेर तनावग्रस्त बन्यो ।

काउन्टरमा तोडफोड गरेपछि सांसद् साह बुद्ध एअरका जनकपुर प्रमुख विजय सिंहको कक्षमै पुगेर विवाद गर्न थाले । साहले उनीसँग भनाभन मात्र गरेनन्, सिहंलाई धकेले पनि ।

त्यतिबेलासम्म बुद्ध एअरको विमान जनकपुर अवतरण भइसकेको थियो ।

त्यो विवाद हेरेर रणभुल्लमा परेका यात्रु क्रमशः विमानतर्फ लागे ।

तर, सांसद साहलाई भने बुद्ध एअरका जनकपुर विमानस्थल प्रमुख सिंहले सुरक्षाकर्मीको सहयोगमा उनलाई विमान चढ्न दिएनन् । हवाई सुरक्षाका दृष्टिकोणले पनि विमानभित्र हो–हल्ला र विवाद गर्न पाइँदैन ।

आफूलाई विमान चढ्नबाट राकेको भन्दै सांसद् साहले फेरी विवाद गरे ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली विमानस्थल पुगिसकेको थियो ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले विमान दुई घण्टा ढिलो आएको भन्दै सांसद साहले काउन्टरमा तोडफोड गरेको बताए ।

खनालले देखापढीसँग भने, “पछि उहाँले आक्रोशमा आएर लात हानेको भन्दै माफिसमेत माग्नुभयो ।”

सांसद् साहले माफी मागेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेलले विमानस्थल प्रमुख र बुद्ध एअरका जनकपुर विमानस्थल प्रमुखसँग फोन संवाद गरे । त्यसपछि मात्र सांसद् साह विमान चढ्न पाए ।

त्यसपछि मात्र दिउँसो १ः४० मा विमान काठमाडौंका उड्यो ।

साह राजपाको तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् हुन् ।

बुद्ध एयरको जनकपुर काउन्टरले भने एअर ट्राफिकका कारण समयमै विमान उडान नसकेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्