कोभिड-१९ को चपेटामा एसियाका गार्मेन्ट उद्योग
नयाँदिल्ली। एम्बातुर फेसन, भारतका अध्यक्ष विजय महातनेसँग भारत, बंगलादेश र जोर्डनमा गरी १८ हजार कामदार छन्। तर, ती सबै अहिले बेरोजगार बनेका छन्। कारण- कोभिड-१९ को जोखिमका कारण उनीहरूलाई कपडा सिलाउने काममा लगाउन सकिने अवस्था छैन।

त्यससँगै ठूलो परिमाणमा पश्चिमा मुलुक निर्यात हुने एसियाको तयारी पोशाकको बजार पनि ठप्प भएको छ। ढाकाको एउटा कारखाना मात्र चालु छ, त्यो पनि आंशिक मात्र।

कोरोना भाइरसको संक्रमण (कोभिड-१९) को असर विश्व अर्थतन्त्रमा कसरी परिरहेको छ भन्ने सानो उदाहरण मात्र हो यो। महातनेको भनाइमा यतिबेला श्रमिकलाई दिनुपर्ने भुक्तानी मात्र मुख्य समस्या होइन। अमेरिका, बेलायतलगायत ठूला ग्राहकको अनावश्यक माग पनि समस्याका रूपमा देखिएको उनको भनाइ छ।

कतिपय ब्रान्डहरूले भुक्तानीका लागि ३० देखि एक सय २० सम्मको समय माग्न थालेका छन्। र, सबै प्रकारको भुक्तानीमा ३० प्रतिशतसम्म डिस्काउन्ट मागिरहेका छन्। यसअघि नै डेलिभरी दिइएका सामानमा पनि त्यस्तो डिस्काउन्टको माग आइरहेको उनी बताउँछन्।

गत फेब्रुअरीदेखि एसियाका गार्मेन्ट कारखानाहरू समस्यामा पर्न थालेका हुन्। खासगरी, चीनबाट आयात हुने कच्चा पदार्थ रोकिएपछि समस्या शुरु भएको हो।

चीनका टेक्स्टाइल उद्योगहरू खुल्न थालेको समाचारले अन्य एसियाली मुलुकका गार्मेन्ट उद्योगीमा आशाको सञ्चारसम्म भएको छ। बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, भियतनाम र म्यानमार पनि पछिल्ला वर्षमा तयारी पोशाक निर्यातमा अगाडि देखिन थालेका छन्।

‘पछिल्लो दशकमा गार्मेन्ट उत्पादन चीनबाट अन्य मुलुकमा फैलिने क्रममा छ, चीनको उत्पादन महँगो पर्न थालेकाले अन्य एसियाली मुलुकले यस व्यापारमा फड्को मार्ने क्रममा थिए,’ तयारी पोशाकको प्रिमियम ब्रान्डको व्यापारमा संलग्न स्ट्यान्ले जेटो भन्छन्।

त्यसको अर्थ एसियाका उदाउँदा अर्थतन्त्रहरूका गार्मेन्ट उद्योगको भूमिका बढ्दै थियो। बंगलादेशमा मात्र ४० लाख गार्मेन्ट मजदुर छन्। तयारी पोशाकको निर्यातले त्यहाँको ९० प्रतिशत निर्यात व्यापारको हिस्सा ओगट्छ।

कम्बोडिया र श्रीलंकामा पनि गार्मेन्ट उद्योगको निर्यात कुल निर्यातको ६० प्रतिशत पुग्न थालिसकेको छ। युनिभर्सिटी अफ डेलावेरका प्राध्यापक सेङ लुको भनाइमा कोभिड-१९ का कारण बंगलादेश, भियतनाम, कम्बोडिया र भारतमा चारदेखि नौ प्रतिशत रोजगारी खोसिएको छ।

सोही कारण कम्बोडिया सरकारले टेक्स्टाइल फ्याक्ट्रीहरूका लागि ट्याक्स होलिडे घोषणा गरेको छ। र, कामदारका लागि पारिश्रमिकका प्याकेज ल्याउन उद्योगहरूलाई आग्रह गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्