राहत वितरणमा हुने भीड हटाउन मुख्यमन्त्री राईकाे निर्देशन

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखलाई राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन्।

आज बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखलाई यस्तो निर्देशन दिएका हुन्।

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइँचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने मुख्यमन्त्री राईकाे भनाइ छ। उनले स्थानीय तहले ‘डेलिभरी भ्यान’को व्यवस्था गरेर घरघरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्न उनले आग्रह गरेका हुन्।

मुख्यमन्त्री राईले मानिसलाई आवतजावत गर्ने पास वितरणमा समेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने तथा अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्नसमेत निर्देशन दिएका छन्।

संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमानाकामा कडाइ गरिने र यसका लागि तयारी गर्नसमेत सबै सुरक्षा निकायलाई निर्देशन दिए। रासस

प्रतिक्रिया दिनुहोस्