राष्ट्रसंघले भन्यो- कोभिड-१९ ले विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ
<p>हङकङ। कोरोना भाइरसको संक्रमण (कोभिड-१९) फैलिन नदिन भइरहेको विश्‍वव्यापी लकडाउनका कारण खाद्य संकटको अवस्था आउन सक्ने कुरामा संयुक्त राष्‍ट्रसंघले सचेत गराएको छ। </p>
<p>राष्‍ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को पछिल्लो रिपोर्टअनुसार हाल सुपर मार्केटहरूमा पर्याप्त खाद्यान्‍न मौज्दात देखिएको छ। तर, संकट लम्बिँदै जाँदा त्यस्तो मौज्दात घट्ने र खाद्य संकटको अवस्था आउन सक्ने रिपोर्टमा उल्लेख छ।</p>
<p>सीएनएनका अनुसार कृषक, कृषिजन्य कच्चापदार्थ, प्रशोधन गर्ने कारखानाहरू, ढुवानी, व्यापारीलगायत शृंखला अवरुद्ध रहेकाले खाद्य संकट देखिन सक्ने एफएओको भनाइ छ। ‘मुद्दा खाद्यान्‍न कमी हुने होइन, तर यस घातक भाइरसको सन्‍निकट गम्भीर असरबारे अहिले नै सचेत रहनु जरुरी छ,’ रिपोर्टमा उल्लेख छ।</p>
<p>राजनीतिक सीमाहरू बन्द रहेको, मानिसको हिँडडुलमाथि प्रतिबन्ध लगाइएको, ढुवानी र हवाई साधन अवरुद्ध रहेकोलगायत कारणले संसारभर खाद्यान्‍न ओसारपसार ठप्प रहेको एफएओले औंल्याएको छ। यस्तो अवस्थामा खाद्यान्‍न स्टकको सीमितता जोखिमपूर्ण रहेको पनि संगठनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्