इटाली र पोर्चुगलको झण्डा अंकित मास्क लगाएर एकजुट हुन रोनाल्डोको आग्रह

काठमाडौं। युभेन्टसका फरवार्ड क्रिष्‍टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगल र कर्मथलो इटलीको राष्‍ट्रिय झण्डाअंकित मास्क लगाएको तस्वीर सामाजिक सञ्‍जालमार्फत सार्वजनिक गर्दै यो विषम परिस्थितिमा एकजुट हुन आग्रह गरेका छन्।

विश्‍व कोरोना भाइरस संक्रमणविरुद्ध जुटिरहेको अवस्थामा रोनाल्डोले यस्तो तस्वीर सार्वजनिक गरेका हुन्। अर्धकदको तस्वीरमा अन्य भाग श्‍यामश्‍वेत छ भने झण्डाको भाग मात्र रंगिन छ।

तस्वीरसँगै पोर्चुगलका स्टार रोनाल्डोले लेखेका छन्, ‘‘हाम्रो संसारका लागि अहिले अत्यन्तै कठिन समय छ। यो समयमा हामी एकजुट भएर एकअर्कालाई सहयोग गर्नु अत्यन्तै महत्वपूर्ण छ। सबैले आफ्नोतर्फबाट सक्दो सहयोग गरौं।’’

इटालीमा एक लाख ४७ हजार पाँच सय ७७ जना कोरोना भाइरस संक्रमित देखिएका छन्। ३० हजार चार सय ४५ जना निको भएका छन् भने १८ हजार आठ सय ४९ जनाको मृत्यु भएको छ। त्यस्तै पोर्चुगलमा १५ हजार चार सय ७२ जना संक्रमित भएका छन् भने दुई सय ३३ जना निको भएका छन्। पोर्चुगलमा चार सय ३५ को निधन भएको छ।

रोनाल्डोले ह्यासट्यागमा लेखेका छन्, ‘‘मास्क पछाडि, कहिल्यौं हार नमान्‍नु’’

रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डिसले यसअघि पोर्चुगलका अस्पताललाई १० लाख युरोबराबर सहयोग गरेका थिए। उनले पोर्चुगलको पोर्टो र लिस्बनका दुई अस्पताललाई सहयोग गरेका हुन्।

कोभिड-१९ बाट संक्रमित हुनेको संख्या अहिले विश्‍वभर झण्डै १७ लाख पुग्‍न लागिसकेको छ। त्यसमध्ये तीन लाख ७६ हजारभन्दा धेरै निको भइसकेका छन् भने एक लाख दुई हजारभन्दा बढीको मृत्यु भएको छ। नेपालमा आजको दिनसम्म नौजनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। एक जना निको भइसकेका छन् भने बाँकी आठ जनाको स्थिति पनि सुधारोन्मुख छ।

प्रतिक्रिया दिनुहोस्