प्यूठानबाट पाँच दिन पैदल हिंडेर जुम्ला
जुम्ला। लकडाउन हुनुअघि मजदुरीका लागि प्यूठानमा गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला आइपुगेका छन्।

कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदुरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै जुम्ला आइपुगेका हुन्।

हिमा गाउँपालिका-६, महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदुरीका लागि प्यूठान जिल्ला पुगेको बेलामा देश लकडाउन भएको र कामविहीन भएर आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताए।

यसैगरी, हर्क तिरुवाले लकडाउन खुल्ने मिति निश्चित नभएपछि बरू घरमै बसौँला भनेर चाउचाउ, बिस्कुट र पानीको भरमा दिनरात हिँडेर जुम्ला पुगेको सुनाए। कालीकोट जिल्लाका ९ जना र जुम्लाका चार जना गरी १३ जनाको भौतिक संरचना निर्माणको जिम्मेवारी थियो। “लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भयो”, तिरुवाले भने।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठानबाट जुम्ला र कालीकोटका स्थानीय युवा भागेर आएको जानकारी प्राप्त भएपछि कालीकोट तिलागुफा नगरपालिकाका चारजना, पलाता गाउँपालिकाका पाँचजना र जुम्ला हिमा गाउँपालिका–६, महाबै पाथरखोलाका चार युवालाई नाग्म हेल्थ डेस्कमा जाँच गरी १४ दिनसम्मका लागि क्वारेन्टाइनमा राखिएको छ।

यसैबीच जुम्ला-कालीकोटको सिमाना जोड्ने पक्की पुल निर्माण गर्न आएका बर्दियाका ९ मजदुर अलपत्र परेका छन्।

जुम्ला घर भएका मजदुर जयधुननाथ योगीका अनुसार समयमै घर फर्कन नसक्दा बर्दियाका कामदार अलपत्र परेका हुन्। कामको सिलसिलामा सुर्खेत गएका ठेकेदार लकडाउनका कारण फर्कन नसकेको पनि उनले बताए।

समस्यामा परेका मजदुरलाई तिला गाउँपालिकाले तत्काल ९० किलाे चामल, ३० किलाे दाल, ३५ किलाे आलु, १५ पाकेट नुन र दुई पेटी तेल उपलब्ध गराएको छ। घर फर्काइदिन अनुरोध गरेका मजदुरलाई गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले तत्काल घर पठाउन सकिने अवस्था नभएकोले जुम्लामै ढुक्कसँग बस्न आग्रह गरिन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्