लकडाउनले सुनसान बाँके र बर्दियाका हाेमस्टे

काठमाडाैं। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरवास (हाेमस्टे) सुनसान छन्।

दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन्।

बर्दियाका गुलरिया र ठाकुरद्वारा पर्यटनलाई आधार बनाएर खुलेका एक हजार सुविधासम्पन्न घरबासको कारोबार पनि शून्यमा झरेको छ।

लकडाउनले पर्यटकको आगमन नभएपछि अर्बौं लगानी गरेर सञ्चालनमा ल्याइएका बर्दिया, डल्लाका घरबास सञ्चालकहरू अहिले चिन्तित बनेको मधुवन नगरपालिका वडा नम्बर १ वडाध्यक्ष परशुराम थारुले बताए।

बर्दियाको बारबर्दिया नगरपालिका-९ को सत्खुलवा र ठाकुरबाबा नगरपालिका-५, गोविन्दपुरको घरबासको अवस्था पनि दयनीय बनेको छ।

बर्दिया मात्र हाेइन, बाँकेको गाभरमा रहेको घरवासको अवस्था पनि दयनीय भएको सञ्चालक कृष्ण चौधरीले बताए।

त्यसैगरी लकडाउनका कारण बर्दिया गुलरिया बजारका सानाठूला पसल, यातायात र होटल व्यवसायीले ठूलो घाटा भोग्नुपर्ने अवस्था सिर्जना भएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु थारुले बताए। रासस

प्रतिक्रिया दिनुहोस्