पाँचथरमा र्यापिड डाइग्नोष्टिक टेष्ट शुरू

पाँचथर। कोभिड-१९ को संक्रमण पत्ता लगाउन पाँचथरमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट शुरू भएको छ।

प्रदेश सरकारले पाँचथरका लागि २०० थान कीट पठाएपछि आजदेखि शीघ्र परीक्षण शुरू गरिएको हो।

कीट आज अबेर आइपुगेकाले आठजनाको परीक्षण भएको छ।

फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा रहेको क्वारेन्टाइनमा बसेका सात तथा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या भएका एकजनाको परीक्षण गरिएकाे हाे। उनीहरू सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिए।

पाँचथरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट दुई तथा जिल्ला अस्पतालबाट एक स्वास्थ्यकर्मी शीघ्र परीक्षण कार्यमा सहभागी छन्। भाेलि, ३० चैतदेखि भने दुई टोली निर्माण गरी क्वारेन्टाइनमा रहेका, उनीहरूको परिवारका सदस्य तथा आशङ्का गरिएका व्यक्तिको शीघ्र परीक्षण गरिने सुवेदीले जानकारी बताए।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशका सबै जिल्लामा शीघ्र परीक्षणको प्रबन्ध मिलाइएको छ।

प्रदेश सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा कोशी अञ्चल अस्पताल विराटनगरमा पीसीआर विधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण गरिरहेको छ। प्रदेश सरकारले एक हप्ता आसपासमा पाँच हजार व्यक्तिको शीघ्र परीक्षण सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्री आङ्बोले बताए।

पाँचथरमा आज साँझसम्म विदेशबाट आएका ६० जना तथा तिनको सम्पर्कमा आएका परिवारका सदस्य क्वारेन्टाइनमा छन्।

संक्रमितसँगै आएका दुईजनाको नतिजा नेगेटिभ

फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएका यहाँका दुई युवाको नतिजा पनि नेगेटिभ आएको छ। फिदिम नगरपालिका–६ का एक तथा फाल्गुनन्द गाउँपालिका-१ का एक युवा संक्रमित युवती चढेकाे विमानबाटै नेपाल फर्केका थिए। उनीहरूलाई मोरङको मिक्लाजुङस्थित क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएपछि घर फर्काउन लागिएको आर्थिक मामिलामन्त्री आङ्बोले जानकारी दिए।

यस्तै कोरोना भाइरससँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएपछि मोरङकै क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गरिएका मिक्लाजुङ गाउँपालिका–८ का एकै परिवारका चार जनाको नतिजा पनि नेगेटिभ आएको छ। पाँचथरमा यसअघि आइसोलेसनमा राखी ९ जनाको स्वाब परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्