लकडाउनको १८ दिनसम्म तनहुँको गन्धर्व बस्तीमा पुगेन राहत

तनहुँ। १८ दिनयताको लकडाउनका कारण भानु नगरपालिका-१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव हुन थालेको छ।

आर्थिक अवस्था कमजोर भएका यहाँका २५ घरपरिवार राहतको पर्खाइमा छन्।

सीता गन्धर्वले घरमा चुल्हो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भन्ने चिन्ता थपिएको गुनासो गरिन्।

सारङ्गी रेटी गीत गाउँदै गाउँ, शहर र यात्रुबसमा डुलेर कमाएर खाने परिवार भएकाले खाद्यवस्तु जुटाउन समस्या परेको उनीहरूले बताएका छन्।

स्थानीयवासी शर्मिला गान्धारीले गन्धर्व बस्तीका सबै सुकुम्बासी रहेको बताउँदै भनिन्, ‘ठाउँठाउँमा राहत बाँडेको खबर सुनिएको छ तर हाम्रो बस्तीमा अझै आइपुगेको छैन ।’

दश वर्षका उमेरदेखि गीत गाएर परिवार पाल्दै आएका ५२ वर्षीय बुद्ध गन्धर्वले केहीले रेष्टुरेण्टमा गीत गाउने र सारङ्गी बजाउने गर्दै आएकोमा लकडाउनका कारण त्यो पनि बन्द भएपछि रोजिरोटी नै खोसिएको बताए।

भवानी गन्धर्व प्रश्न गर्छिन्, ‘हामी त आज ल्याएर आजै खाने हो, बच्चा भोक लाग्यो भन्छन्, के गर्ने ?’

भानु नगरपालिकाका उपप्रमुख आशा थापाले राहतका लागि खाद्य सामग्री खरीद गर्ने प्रक्रियामा रहेकाले चाँडै राहत वितरण गरिने बताइन्।

उनका अनुसार अनुसार नगरपालिकाभर एक हजार ८२१ जनालाई राहत दिनुपर्ने सूची तयार भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्