बलिउड फिल्म उद्योगलाई कोरोना भाइरसको गतिरोध

मुम्बई। रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’सँग बलिउडमा ठूलै आशा थियो। भारतको राष्ट्रिय विदाको अवसर पारेर रिलिजको तयारीमा रहेको फिल्मले बक्स अफिसमा धमाका मच्चाउने अपेक्षा थियो।

तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत तीन सातादेखि लकडाउनमा छ। र, त्यसैको चपेटामा परेको छ, बलिउड पनि।

बीबीसीका अनुसार लकडाउन शुरु हुँदै गर्दा अभिनेत्री कंगना रनावत तमिलनाडुमा फिल्म ‘थलैवी’को सुटिङमा व्यस्त थिइन्। उनले ४५ दिनका लागि तमिलनाडुमै बसेर सुटिङ सक्ने तालिका बनाएकी थिइन्। तर, लकडाउन शुरु भएकाले भीड जम्मा हुन मिलेन र उनी सुटिङ छाडेर मुम्बई फर्किइन्।

नयाँ फिल्मको सुटिङका लागि श्‍रीलंका उड्नुअघि नै लकडाउन शुरु भएकाले अभिनेत्री दिपिका पादुकोणले आफूलाई भाग्यमानी ठानेकी छन्। ‘धन्‍न मुम्बई छाडेका थिएनौं, नत्र कतै अलपत्र पर्नुपर्थ्यो होला,’ उनले भनेकी छन्।

फिल्मी सिताराहरूको समय यतिबेला उनीहरूकै हातमा छ। घरमा बिताइरहेको दैनिकी सामाजिक सञ्‍जालमा पोस्ट गर्दै बसेका छन्, अधिकांश कलाकार।

दिपिका पादुकोण र कट्रिना कैफले घरमै खाना पकाउने, भाँडावर्तन सफा गर्नेलगायत दैनिकीमा रहेको बताइरहेका छन्। आलिया भट्ट र ऋतिक रोशन पिन केही नयाँ सिक्न लागिपरेका छन्।

कार्तिक आर्यनले यसबीचमा इन्स्टाग्राममा राखेको एउटा भिडियो एक करोड पटक हेरिएको छ, इन्स्टाग्राममा। भिडियोमा उनले मानिसहरूलाई घरमै बस्न आग्रह गरेका छन्।

अक्षय कुमार र अनुष्का शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय कोषका लागि रकम दान गरेका छन्। बेरोजगार बनेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूरका लागि आफ्नो रकम खर्च गर्न उनीहरूले आग्रह गरेका छन्।

फिल्ममेकर करन जोहर अप्रिलदेखि नयाँ फिल्म ‘तख्त’को सुटिङ थाल्दै थिए। त्यसका लागि युरोपमा उनको टिमले सेटहरूको निर्माण नै थालेको थियो। उनी स्पेनमा नयाँ फिल्म सुटिङको तयारीमा थिए। तर, उनको योजना अनिश्‍चित कालका लागि पछाडि धकेलिएको छ। ‘कहिलेदेखि परिस्थिति सामान्य बन्छ, केही जानकारी छैन,’ उनी भन्छन्।

फिल्म ‘८३’का निर्देशक कबिर खान भने आशावादी देखिन्छन्। यो समस्या आगामी चार महिना मात्र रहने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्