नेपालमा राेकिएका चार हजार ४६ विदेशी स्वदेश फिर्ता
काठमाडाैं। देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन्।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन्। अध्यागमन विभागका अनुसार १४ चैतदेखि २९ चैतसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन्।

अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना चार हजार बढी नागरिक उद्धार गरी घर फिर्ता लगेको जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ। जर्मनीले १४ चैतमा ३०७, १५ मा ३०५, २२ मा ३०७ र २६ मा २८६ नागरिकलाई स्वदेश फिर्ता लगेको छ।

त्यसैगरी फ्रान्सले १५ चैत र २२ चैतमा दुई उडानमार्फत ६०८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ। अमेरिकाले पनि १८ चैत र २३ चैतमा दुईवटा उडानमार्फत् नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ। बेलायतले २६ र २८ चैतमा दुई उडानमार्फत् ५०० नागरिक लगेको छ।

अष्ट्रेलियाले नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ । नेपाल एयरलाइन्सको १९ चैत गतेको चार्टर उडानमार्फत् उनीहरू स्वदेश फर्किएका हुन्।

जापानले पनि नेपाल एअरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी २८ चैतमा १९३ नागरिक स्वदेश लगेको छ।

क्यानाडाले कतार एअरवेजको २९ चैतकाे जहाजमार्फत् २०७ नागरिक लगेको छ। त्यस्तै २२ चैतमा मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने २० चैतमा नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ।

नेपाल पर्यटन बोर्डले सरोकार निकायसँगको समन्वयमा उनीहरूलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौं ल्याउन सहजीकरण गरेको थियो। सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन्। लुक्ला, चितवन, पोखरा, मुस्ताङलगायत गन्तब्यबाट पर्यटकलाई काठमाडौँमा जम्मा गरी उनीहरुको मुलुक फर्काइएको हो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालका विभिन्न गन्तव्यमा रोकिएका पर्यटकको उद्धार गरी काठमाडौंसम्म ल्याएर उनीहरूको मुलुक फर्काउन सहजीकरण गरिरहेको बताए। उनले नेपालमा अझै कति पर्यटक छन् भन्नेबारे अध्ययन भइरहेको जानकारी दिए। बोर्डले कोभिड-१९ का कारण पर्यटन क्षेत्रमा परेको असरबारे ‘अनलाइन सर्भे’को काम पनि शुरू गरिएको जनाएको छ।

लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तर्राष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले १० चैतदेखि २९ चैतसम्म २४ अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्