लकडाउनको पूर्ण पालना गराउँदै क्वारेन्टाइनमा राख्ने, परीक्षणको दायरा तीव्र बनाउने

काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा बढाउने आफ्नो रणनीतिलाई अझ तीव्र रूपले अघि बढाउने भएको छ।

मन्त्रालयले नियमित आयोजना गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या थप भएपछि रणनीति अपनाएर अघि बढ्ने बताए।

“थप तीन जनामा संक्रमण भेटिएको छ। अब अझै चनाखो हुनुपर्ने देखिएको छ”, उनले भने, “मन्त्रालयले लकडाउन पूर्ण पालना गराउँदै क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा बढाउने नीति अघि सारेको छ।”

होम क्वारेन्टाइन वा सरकारी निकायले बनाएका क्वारेन्टाइनमा बसेर लकडाउनको सबैले पूर्ण पालना गर्ने हो भने संक्रमण बढ्ने जोखिम कम हुने मन्त्रालयले विश्वास लिएको छ।

“परीक्षण जति धेरै गर्न सक्यो त्यती नै सक्रमण छ कि छैन भन्ने पहिचान गर्न सकिन्छ”, उनले भने, “संक्रमण देखिएमा उपचार गर्ने र नदेखिएमा भावी रणनीति बनाउन सहयोग मिल्छ।”

मन्त्रालयले सबैलाई घर-घरमा बसेर सहयोग गरिदिन अनुरोधसमेत गरेको छ।

मन्त्रालयले नयाँ केस भेटिएसँगै नेपालमा अब संक्रमितको संख्या १२ पुगेको जनाएको छ।

नेपालमा आजसम्म पाँच हजार १८४ जनाको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको छ भने तीन हजार ३२१ जनाको आरडीटी विधिबाट परीक्षण गरिसकिएको छ।

मन्त्रालयले परीक्षणको दायरा उपत्यका भन्दा बाहिर पनि धेरै स्थानमा अघि बढाइसकिएको जनाएको छ।

अहिले दैनिक ८०० नमूना परीक्षण भइरहेका छन्।

तथ्यांक अनुसार नेपालभर बनाइएका क्वारेन्टाइनमा अझै मानिस बसेका छैनन्। सात हजार ९७३ जना मात्रै अहिलेसम्म क्वारेन्टाइनमा बसिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

देशैभर ३० हजार ५६६ जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाइएका छन्।

प्रतिक्रिया दिनुहोस्