सुनसान छ बिस्केट जात्राकाे चहलपहल हुने भक्तपुर
काठमाडाैं। बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ। प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन।

आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा मात्रै गरिएको छ।

बिस्केट जात्राको अवसरमा हरेक चैत मसान्तमा लिङ्गो उठाएर ५ वैशाखमा ढाल्ने परम्परा रहे पनि कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण लिङ्गो नउठाएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए।

यता भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने ५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाउनुपर्नेमा आज नउठाइने भएको छ।

लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहे पनि यस वर्ष लिङ्गो नउठाई सामान्य पूजा मात्रै गरिने भएको हो।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ। भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ।

त्यसैगरि मध्यपुर थिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि लिङ्गो नउठाइने भएको छ। आज यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरू हुने र २ वैशाखमा जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा छ। मध्यपुरथिमिमा मनाइने जात्रा पनि कोरोना भाइरसको प्रभाव रोक्नकै लागि नमनाइने भएपछि यहाँको लिङ्गो पनि नउठाइने भएको हो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्