मुस्लिम समुदायसँग सांसद राईको अपील: 'घरमै नमाज पढ्नुस्'

काठमाडौं। संघीय सांसद एवम् पूर्व सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा थप सचेतता अपनाउन मुस्लिम समुदायसँग आग्रह गरेका छन्। पूर्वमन्त्री राईले आज लिखित अपील जारी गर्दै मुस्लिम समुदायलाई कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थाको गाम्भीर्यतालाई मध्यनजर गरी घरमै नमाज पढ्न भनेका छन्।

''कोरोना भाइरसको महामारीसँग लड्न तत्कालका लागि लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम राख्नु नै हाम्रा निम्ति निर्विकल्प उपाय हो'', राइले अपीलमा भनेका छन्, ''हामीले सामान्य अवस्थामा गर्दै आएका आफ्ना कतिपय दैनिक गतिविधि यतिबेला पनि नियमित गर्न खोज्यौं भने त्यसले कोरोना भाइरस संक्रमण थप विस्तार हुन सक्छ। त्यसैले के-कस्ता क्रियाकलाप असुरक्षित हुन् र के-कस्ता सावधानी अपनाउँदा सुरक्षित हुन सकिन्छ भन्नेतर्फ पर्याप्त ध्यान पुर्‍याउनु पर्ने देखिएको छ।''

वीरगञ्जस्थित जामे मस्जिदमा रहँदै आएका तीन भारतीयमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको सन्दर्भमा थप सचेतता अपनाउनु जरूरी रहेको राईको भनाई छ। ''कोरोना भाइरसविरुद्धको लडाइँ जित्न भौतिकरूपमा सामाजिक दूरी कायम राख्दै सामाजमा एकता प्रस्तुत गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता हो। अत: अहिले पनि मस्जिदमा गएर नमाज पढ्दै आइरहेका सम्पूर्ण मुस्लिम दाजुभाईलाई घरमै बसेर नमाज पढिदनुहुन आग्रह गर्दछु'', अपीलमा भनिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवधिमा कोही विदेशी नागरिक आएर मस्जिदमा आश्रय लिइरहेको भए उनीहरूलाई सम्बन्धित पालिकामार्फत अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनेतर्फ केन्द्रित हुन पनि राईले अपील गरेका छन्। कोरोना भाइरस संक्रमणको जोखिममा रहेका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूलाई पनि क्वारेन्टाइनमा बसिदिन उनले अनुरोध गरेका छन्।

लकडाउनको पालना गराउन र सामाजिक दूरी कायम राख्ने सवालमा सम्बन्धित पालिकाका जनप्रतिनिधि, सरकारी अधिकारी र मौलाना, मौलवीहरूलाई आ-आफ्नो क्षेत्रबाट थप प्रभावकारी प्रयास गर्न पनि राईले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्