नेपाली समाज संकटमै हुन्छ एकजुट र चलायमान

त्यसपछि उठेका हुन्

धैर्यको धरहरा उभिएका यी मानिसहरू

जब ढलेथ्यो–

सयौं वर्षदेखि आस्था उभिइरहेको

तेत्तीस कोटी देवीदेउताहरूको

अद्भूतकाष्ठमण्डप !

अचानक जीवन झरेको बेला जीवन टिपिहिँडेका को हुन् यी?

को हुन् यी?

सपनाको पुनर्निर्माण गरिरहेका!

जितेर शोक–

भग्नावशेष खोतलिरहेका को हुन् यी?

जितेर भोक–

राहत बाँडिरहेका को हुन् यी?

बालेर विवेकको बाती स्वतःस्फुर्त जुटिरहेका,

कसका हुन् यी हातहरू?

ताण्डवरत कहरसँग

आमनेसामने उभिएका

को हुन् यी मानिसहरू?

सीमातीत पीडा पहाडमा उभिएर

सगरमाथा भन्दा अग्ला देखिएका

मृत्युसँग जीवनको ज्योति खोसिरहेका

सप्पैभन्दा ठूला लाग्ने

को हुन् यी मानिसहरू?

२०७२ सालको भूकम्पबाट शुरु गरौं। १२ वैशाखमा गएको भुकम्पले उभिरहेका घर मात्रै होइन दरबार र मन्दिर पनि भत्किए। एकाएक यति भयानक प्राकृतिक प्रकोपको शिकार बन्नपुगेका मानिसहरूसँग खानलाई खाना थिएन। बस्नलाई ओत थिएन। गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवाजस्ता पहाडी जिल्लाका दुर्गम गाउँमा सिंगो गाउँ नै भुकम्पको चपेटामा परेका थिए। तर, देशैभरका मानिसहरू तुरुन्तै एकजुट भए। परकम्पको बीचमा पनि राहत सामग्री जुटाउन दौडधुप गरे। मधेशका मानिस हिमालसम्मै पुगेर दुःखमा आड दिए।

सेना र प्रहरी जस्ता सरकारी संयन्त्र गतिशील भए पनि र उद्दारमा तिनले प्रशंसनीय भूमिका देखाए पनि सरकार आफैमा त्यतिबेला आलोचित भइरहेथ्यो।

संकटको त्यो समयमा पनि हातमा हात मिलाएर, मृत्युसँग जोरी खोजिरहेका आममानिसलाई बुटवलका कवि गिरी श्रीस मगरले ‘साधारण मानिसहरू’शीर्षकको कवितामा यसरी चित्रण गरेका थिए।

भूकम्पका ती कष्टदायी क्षणमा मात्र होइन, त्यसपछि भारतले लगाएको नाकाबन्दीको समयमा पनि नेपाली एकबद्ध भईरहे। लामो समय नाकाबन्दी हुँदा सिर्जना हुने अभावले लुटपाट र सामाजिक खलबली उत्पन्न हुने अनुमान थियो केही विश्लेषकहरूको। तर, परिस्थिति ठ्याक्कै उल्टो बन्यो। साधारण नेपालीजन एकबद्ध नै भए। यद्यपि मधेशी नेपाली समुदाय सडक आन्दोलनमा थियो।

आखिर त्यस्तो के छ नेपाली समाजमा जसले संकटको समयमा सधैं एकबद्ध बनाइराख्छ?

“विपतको बेलामा एक हुने स्वाभाविक मानवीय चरित्र नै हो यो”, मानवशास्त्री सुरेश ढकाल भन्छन्। तथापी संकटकै समयमा विभाजित हुने समाजका इतिहास नभएका पनि होइनन्। नेपालको सामाजिक इतिहासमा भने त्यस्तो विभाजन देखिँदैन। त्यसैले ढकाल थप्छन्, “नेपाली समाजको राम्रो पक्ष भनेको यो विभाजित छैन। र, यहाँ विभाजनकारी राजनीति पनि कम छ। भारतमै हेर्ने हो भने विभाजन बढी छ। त्यसैले त्यहाँ संकटको बेलामा पनि विभाजनकारी राजनीति हावी देखिन्छ।”

मानवशास्त्री ढकालका अनुसार नेपाली समाजमा दान, पुण्य गर्ने परम्परा भएकैले पनि संकटको समयमा एकले अर्कालाई सहयोग गर्ने प्रचलन स्थापित भएको हो।

समाजशास्त्री सुजित मैनाली नेपाली समाजमा अन्तनिर्हित ऐक्यबद्धतालाई ‘हजारौं वर्षदेखिको उन्नत परम्परा’को रुपमा व्याख्या गर्छन्।

“शत्रुको पनि मलामी जाने परम्परा हो हाम्रो”, मैनाली भन्छन्, “मर्दा, पर्दा समाजले आड, भरोसा दिने भएकाले हाम्रो समाजमा व्यक्ति एक्लो छैन।”

आखिर त्यस्तो के छ नेपाली समाजमा जसले यसलाई संकटमा एक गराउँछ?

मानवशास्त्री सुरेश ढकाल नेपाली राज्य परिपक्व नभएकाले पनि समाज बलियो बन्न पुगेको बताउँछन्।

“राज्यको निर्माण हुनुभन्दा पहिलेदेखि नै बनेको नेपाली समाज संगठित भएर बसेको हो”, ढकाल भन्छन्।

ढकालकै विचारसँग मिल्ने तर्क गर्छन् समाजशास्त्री मैनाली पनि। भन्छन्, “हाम्रो सामाजिक जीवनमा राज्यको भूमिका छैन। पश्चिमा देशमा व्यक्तिले राज्यलाई सबैथोक सुम्पेको हुन्छ र त्यहाँ राज्यले व्यक्तिको जीवन सुरक्षा गर्छ। त्यसैले त्यहाँ समाज कमजोर छ। हाम्रोमा राज्य कर उठाउने भन्दा बढी प्रभावकारी भएको छैन। मानिसहरूलाई त सामाजिक शक्तिले नै जोडिराखेको छ।”

सामाजिक ऐक्यबद्धता कायम राखिराख्न परम्परागत सामाजिक संस्थाहरूले प्रशस्त भूमिका खेलेका छन्। खासगरी नेवार समुदायमा हुने गुठी, थारु समुदायमा बडघर, थकाली समुदायमा ढुकुटी लगायत प्रायःजसो आदिवासी जनजाती समुदायमा हुने सामाजिक संस्थाहरूले सामाजिक ऐक्यबद्धता कायम गरेका छन्।

“यी संस्थाहरूले श्रम शक्ति र सहयोग उपलब्ध गराउँछन्”, मानवशास्त्री ढकाल भन्छन्, “अहिले पनि औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र बलियो छ। यसले सघाउ–पघाउ, पर्म जस्ता अभ्यासलाई निरन्तरता दिएको छ।”

नेपाली समाजमा अहिले पनि परिवार नै बलियो भएको उनको तर्क छ। “हाम्रोमा परिवारले परिवारलाई सहयोग गर्ने चलन हो। पश्चिमा समाजमा जस्तो यहाँ व्यक्ति हावी भइसकेको छैन”, ढकाल भन्छन्।

समाजशास्त्री प्रणव खरेल भने यी विचारमाथि फरक मत राख्छन्। नेपाली समाज एकताबद्ध हो भन्ने मान्यता अलंकारमात्र भएको उनको जिकिर छ।

“समकालीन नेपाली समाज त्यस्तो देखिँदैन”, खरेल भन्छन्।

खरेल संकटको सामना भन्दा पनि त्यसले पार्ने असरहरूप्रति बढी ध्यान दिन्छन्। उनका अनुृसार संकटले पार्ने असर वर्ग, क्षेत्र र जातअनुसार फरक हुने गर्छन्।

“विपतले प्रभाव त सबैलाई पार्छ तर त्यसका असर वर्ग, क्षेत्र र जातअनुसार फरक हुन्छन्। जस्तो अहिले दैनिक ज्यालादारीमा आश्रित श्रमिक र तलबी जागिरेमा कोभिड–१९ को असर फरक छ। त्यस्तै काठमाडौंजस्ता ठूला शहरमा श्रम बेच्ने ठूलो समूह छ। जब विपत आउँछ त्यो समूह घर फर्किन्छ”, उनी भन्छन्।

समाजशास्त्री खरेलका अनुसार ऐतिहासिक रुपमा हेर्दा नेपाली समाजमा केही हदसम्म परोपकारिता देखिन्छ। १९९० सालको भूकम्पमा मारवाडी समूहले टुँडिखेलमा आफ्नो भण्डार खोलेर खाना बाँडेको थियो।

“त्यो स्वंयसेवी प्रवृत्ति अहिले कम भएको छ। स्वंयसेवीपन अब परियोजना केन्द्रित भएको छ”, खरेलको टिप्पणी छ।

त्यस्तै गुठी, ढिकुरी, बडघरजस्ता परम्परागत संस्थाहरू पनि कमजोर बनिरहेको उनको ठम्याई छ। “ती संस्थाहरूको उपयोगिता कमजोर भइरहेको छ। उनीहरू सांस्कृतिक प्रतिक मात्र बनिरहेका छन्”, खरेल भन्छन्।

नेपाली समाजबारेका आआफ्नै मत भए पनि कोरोना भाइरस संक्रमणको महामारीबीच यसको सबभन्दा सबल पक्ष फेरि उजागर भएको छ। नेपाली मात्रको के कुरा, यति कठोर अवस्थामा पनि कोही भोकभोकै पर्ने अवस्था देखिएको छैन। भोकभोकै पर्नथालेकालाई सहयोग गर्न सहृदयी हात तयार भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्