बेलायती प्रधानमन्त्री जोनसनद्बारा आफ्नो उपचारमा संलग्न नर्सको उच्च प्रशंसा

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारमा रादतदिन नभनि खटिएका दुई नर्सको खुलेर तारिफ गरेका छन्। कोरोना भाइरसको संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएपछि दिएको पहिलो प्रतिक्रियामा जोनसनले आफ्नो उपचारमा खटिएका दुई नर्सको विशेष प्रशंसा गरे।

आफू सघन उपचार कक्ष (आइसीयू)मा उपचाररत रहँदा ४८ घण्टासम्म छेवैमा उभिएर सेवामा खटिएका नर्स जेनी र लुइसको जोनसनले प्रशंसा गरेका हुन्। उनले जारी गरेको भिडओ सन्देशमा आफ्नो उपचारमा प्रत्यक्ष-अप्रत्यक्ष खटिएका सफाई कर्मचारीदेखि चिकित्सकसम्म सबैको प्रशंसा गरेका थिए। तर उनले जेनी र लुइसको नामै लिएर उनीहरूको सेवाबाट आफू निक्कै प्रभावित भएको बताए।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका जोनसन हिजो एक सातापछि डिस्चार्ज भएका थिए। स्वास्थ्यमा धेरै समस्या भएपछि उनी तीन रात आइसीयूमा बसेका थिए। जहाँ जेनी र लुइसले उनको उपचारमा निक्कै ख्याल गरेका थिए।

वेलायती प्रधानमन्त्री जोनसनले त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को पनि प्रशंसा गरेका छन्। एनएचएसमा आवद्ध स्वास्थ्यकर्मीहरूले कोरोना भाइरससँग लड्न देखाएको तत्परता गर्व गर्न लायक भएको बताएका जोनसनले सबैको एकता र समर्पणले चाँडै नै कोरोनाविरुद्धको जित हासिल गर्न आफूहरू सक्षम हुने पनि विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्