फ्रान्समा थपियो लकडाउन, ११ मे सम्म कायम रहने

काठमाडौं। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले १७ मार्च (४ चैत २०७६) देखि लागू गरिएको लकडाउन लम्बिने घोषणा गरेका छन्। ११ मे (२९ वैशाख २०७७)सम्म लकडाउन कायम रहने उनले घोषणा गरेका छन्।

उनले मेको मध्यबाट फ्रान्समा क्रमैसँग खुल्दै जाने बताए। राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले फ्रान्स कोभिड-१९ को सामना गर्न तयार नहुँदै महामारी फैलिएकाले स्थिति नियन्त्रणमा आउन गाह्रो भएको उल्लेख गरे। उनले देशका विभिन्न क्षेत्रका अस्पतालहरूले अहिले कोभिड-१९ का बिरामीको चाप थेग्न नसकिरहेको बताए।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार त्यहाँ कोभिड-१९ का कारण मृत्यु हुनेहरूको संख्या १४ हजार ९६७ पुगेको छ। पछिल्लो २४ घण्टामा फ्रान्समा ५७४ जनाको निधन भएको अधिकारीहरूले बताएका छन्।

यसैबीच बेलायतका परराष्ट्र मन्त्रीले भने पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण निधन हुनेको संख्याले उच्च सीमा ननाघेकाले सकारात्मक संकेतहरू देखिएको बताएका छन्। अमेरिकामा भने पाँच लाख ५४ हजार ८४९ जनामा संक्रमण पुष्टि भएको छ भने २१ हजार ९४२ को निधन भइसकेको छ। -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्