मनिषा कोइराला भन्छिन्- क्यान्सरपछि लकडाउनसँग संघर्ष
<p>मुम्बई। पछिल्लो पटक नेटफ्लिक्सको फिल्म ‘मस्का’मा देखिएकी अभिनेत्री मनिषा कोइराला यतिबेला मुम्बईस्थित घरभित्रै समय बिताइरहेकी छन्। अंग्रेजी न्युजपोर्टल ‘द क्‍विन्ट’सँग गफिँदै उनले लकडाउनको फुर्सदिलो समयमा ‘गार्डेनिङ’को सोख पूरा गर्न लागिपरेको बताइन्।</p>
<p>यही समयमा उनी अडियो पुस्तक तयार पार्ने सोख पनि पूरा गर्दैछिन्। ‘जब लकडाउन घोषणा भयो, म केही चिन्तित भएँ। किनकि, मेरो साथमा मेरा वृद्ध मातापिता पनि हुनुहुन्छ,’ उनले भनिन्, ‘मेरा केही डाक्टर साथीहरूसँग सल्लाह लिएँ, उनीहरूले ह्वाट्स एपका सन्देशहरू हेर्न बन्द गर्न सुझाव दिए।’</p>
<p>क्यान्सरको उपचारका क्रममा आफूले भोगेको समयले अहिलेको परिस्थितिसँग लड्न साहस दिएको उनले बताइन्। ‘म अहिले वर्तमानलाई मात्र ध्यान दिइरहेकी छु, भविष्‍यलाई होइन। पर्सीप्रति पनि चिन्ता छैन, न त लकडाउन खुलेपछिको समयप्रति कुनै शंका छ,’ उनले भनिन्, ‘म केवल आफैंभित्र मुस्काराइरहेकी छु। क्यान्सरको उपचारका क्रममा म लामो समयसम्म भय नामको मनोविकारका साथ बाँचें। लकडाउनको यो समयले मलाई क्यान्सरको उपचारको त्यही कष्‍टप्रद समयको सम्झना दिलाएको छ।’</p>
<p>उनले नेटफ्लिक्समार्फत भरखरै फिल्म ‘बदला’ हेरिन्। यस फिल्ममा अभिताभ बच्चन, तापसी पन्नुलगायत बलिउड स्टारहरूको अभिनय छ। फिल्म हेरेपछि उनी तापसीको अभिनय कौशलबाट प्रभावित बनिन्। ‘अमितजीको फिल्ममा बलियो उपस्थिति छ र तापसीको अभिनयबाट म साँच्चै उत्साहित भएँ,’ मनिषाले भनिन्।</p>
प्रतिक्रिया दिनुहोस्