भारतको लकडाउनमा विश्वास जितेका राता भ्यान

नयाँदिल्ली। संसारकै ठूलो हो, भारतको हुलाक सेवा। प्रविधिको विकासका कारण अहिले चिठ्ठीपत्र आदानप्रदानमा हुलाकको प्रयोग कम छ। त्यसका बावजुद मुलुकभर लकडाउन लम्बिँदै जाँदा भारतीय हुलाक सेवाले औषधी आपूर्तिमा आफूलाई खरो उतारेर एकपटक फेरि आफ्नो प्रभाव प्रमाणित गरेको छ।

भारतमा रातो रंगका पोस्टल भ्यानहरू लोकप्रिय छन्। भारतका ६ लाख गाउँमा हुलाक कार्यालयहरू छन्। चिठ्ठीपत्रबाहेक हुलाक सेवाले बैंकिङ, पेन्सन कोष र प्राथमिक स्तरको बचतको काम पनि गरिरहेको छ, लाखौं भारतीयका लागि।

भारतीय हुलाक सेवाको अर्को विशेषता पनि छ। यसले औषधी र औषधीजन्य वस्तुको ओसारपसारमा पनि महत्वपूर्ण भूमिका वहन गरिरहेको छ। २४ मार्चदेखि भारतभर शुरु भएको लकडाउनयता हुलाक सेवाले मेडिकल सामानको आपूर्तिमा आफूलाई अब्बल सावित गरेको छ।

भारतीय औषधी उत्पादक संघका कार्यकारी निर्देशक अशोककुमार मदानका अनुसार लकडाउनले क्यान्सर, मुटुरोगलगायत गम्भीर प्रकृतिका बिरामीका लागि अत्यावश्‍यक औषधी उत्पादन र सप्लाइमा असर पारेको छ।

यसअघि संघले गुजरातमा हुलाक सेवासँग मिलेर औषधी आपूर्ति व्यवस्थापन गरिसकेको थियो। यसबीचमा सबैभन्दा बढी जनसंख्या रहेको उत्तरप्रदेशको हुलाक सेवाका सिनियर सुपरिटेन्डेन्ट आलोक ओझाले पनि संघसँग सहकार्यको प्रस्ताव गरे। ‘र, हामीले समाधान फेला पार्‍यौं,’ मदानले बीबीसीसँग भने।

दुई संस्थासँगको सहकार्य शुरु भएपछि धेरै मानिसले हुलाक सेवामा कल गर्दै औषधी मगाउन थाले। लखनऊस्थित सञ्जय गान्धी पोस्टग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसकी माइक्रोबायोलोजिस्ट डा. उज्जला झाका अनुसार कोभिड-१९ परीक्षण किटको सप्लाइमा पनि हुलाक सेवा प्रभावकारी देखिएको छ। आफूले एक दिनपछि नै परीक्षण किट दिल्लीबाट मगाउन सफल भएको उनले बताइन्।

यसबीचमा कोभिड-१९ परीक्षण किट, एन-९५ मास्क, भेन्टिलेटरलगायत अत्यावश्‍यक सामग्री र उपकरणहरू भारतका कुना-कुनामा पुर्‍याउन हुलाक सेवा प्रभावी देखिएको छ। ‘हुलाक भारतको सबैभन्दा विश्‍वासिलो सेवा हो,’ ओझा भन्छन्, ‘हामी जतासुकै छौं र हामीलाई थाहा छ, हामी सहयोग गर्न सक्छौं।’

प्रतिक्रिया दिनुहोस्