भारतीय प्रधानमन्त्री मोदीको सम्बोधनका सात सन्देश

नयाँदिल्ली। कोभिड-१९ विरुद्ध लड्न आगामी ३ मे (२१ वैशाख)सम्म लकडाउन बढाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशवासीका नाम गरेको सम्बोधनमा भारतीय नागरिकहरूलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषयमा बोले।

उनले खासगरी आफ्ना नागरिकलाई सातवटा सन्देश दिए। पहिलो, ज्येष्‍ठ नागरिकलाई विशेष हेरचाह गरौं। दोस्रो, सामाजिक दूरीको पूर्ण पालना गरौं। तेस्रो, आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गरौं। चौथो, कोरोना भाइरसको संक्रमण रोक्न ‘आरोग्य सेतु’ मोबाइल एप अनिवार्य डाउनलोड गरौं।

पाँचौं, जतिसक्दो गरिब परिवारलाई भोजनको व्यवस्था मिलाऔं। छैटौं, आफूसँग काम गरिरहेकाहरूलाई नोकरीबाट ननिकालौं। र, सातौं, कोभिड-१९ विरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई विशेष सम्मान गरौं।

यसबीचमा राज्य सरकारहरूसँग भएका अन्तरक्रिया र संवादबाट लकडाउन बढाउनुपर्ने निष्‍कर्ष निस्किएको उनले बताए। यो कठिन घडीमा देशको अनुशासित सिपाहीका रूपमा लकडाउनको कर्तव्य पालना गरेकामा उनले भारतीय नागरिकहरूको प्रशंसा गरे।

‘लकडाउन र सामाजिक दूरी आर्थिक दृष्‍टिकोणबाट महँगा सावित भएका छन् तर ती जनताको जिन्दगीभन्दा ठूला होइनन्,’ उनले भने। हाल कोभिड-१९ को हटस्पट बनेका इलाकाबाट संक्रमण बाहिर निस्किन नदिनका लागि उच्च सतर्कता अपनाइरहन उनले नागरिकहरूसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्