बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, लकडाउन एकसाता लम्बिन सक्ने
काठमाडौं। लकडाउनलाई निरन्तरता दिने वा नदिने र कोभिड-१९ विरुद्ध सरकारले अझै गर्नुपर्ने तयारी लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

बैठकमा कोभिड-१९ कै रोकथाम, उपचार र तयारीबारे छलफल केन्द्रित छ।

कोरोना भाइरस संक्रमणसँग जुध्न भइरहेको अहिलेसम्मको कामको समीक्षा र अबको रणनीतिमा पनि बैठकमा छलफल भइरहेको छ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका कारणले रोकथाम र नियन्त्रणका लागि लकडाउन बढाउनुपर्ने सरोकारवालाले सरकारलाई सुझाइरहेका छन्।

तीन दिनअघि प्रधानमन्त्रीसँगको भिडिओ कन्फ्रेन्समा सातवतै प्रदेशका मुख्यमन्त्रीहरूले पनि लकडाउनको समय अझै केहीदिन बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सो क्रममा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा कडाइ हुने बताएका थिए।

बालुवाटार स्रोतका अनुसार अझै एकसातासम्म लकडाउनको समय बढ्ने सम्भावना छ।

प्रधानमन्त्रीले केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै अब आउने दुईसाता केही चुनौतीपूर्ण हुने बताएका थिए।

कोभिड १९ फैलिन नदिन सरकारले ११ चैतदेखि पहिलो पटक लकडाउन लागू गरेको थियो।

त्यसपछि दुई पटक अवधि बढाएर ३ वैशाखसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्