सनसिटीबाट धुलिखेल पुगेका पुरुष घरमै प्रहरीको निगरानीमा

धुलिखेल । काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका-९ काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ ।

सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्‍यापिड डायग्‍नोष्‍टिक टेष्‍ट (आरडीटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेको धुलिखेलस्थित घर आएका थिए ।

धुलिखेल-७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रणकुमार तिमल्सिनाले बताए। “सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ,” उनले भने । उनका अनुसार ती पुरुषालाई घरमा छुट्टै तरिकाले बस्‍न लगाइएको छ ।

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी ५ चैतमा बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्‍वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरूलाई पाटन अस्पतालमा आइसोलेसनमा राखिएको छ । उक्त अपार्टमेन्ट सोमबार नै ‘सिल’ गरिएको छ ।

यसैबीच काभ्रेमा आइतबारदेखि विदेशबाट फर्किएकाहरूको र्‍यापिड डायग्‍नोष्‍टिक टेष्‍ट (आरडीटी) थालिएको छ । हालसम्म ९७ जनाको आरडीटी भएको जिल्ला स्वास्थ्य प्रमुख डा. नरेन्द्र झाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्