ट्रम्पको नजर चन्द्रमाको खनिज पदार्थतिर

वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले हालै एक कार्यकारी निर्देशनमा हस्ताक्षर गरे। उनले हस्ताक्षर गरेको निर्देशनमा भनिएको छ- अमेरिकासँग अन्तरिक्षमा उपलब्ध संशाधनको खोजी र प्रयोग गर्ने अधिकार छ।

अमेरिका अन्तरिक्षका संशाधनको साझा प्रयोगको नजरबाट अमेरिकाले नदेख्‍ने गरेको तथा तिनको प्रयोगमा कुनै अन्तर्राष्‍ट्रिय सम्झौतामार्फत अनुमति लिनुपर्ने जरुरी नभएको पनि आदेशमा उल्लेख छ।

आखिर अमेरिका किन अन्तरिक्षमा उत्खनन् गर्न चाहन्छ ? र, यसको फाइदा के हुन सक्छ ? रेडियो अन न्युजबिटले विशेषज्ञहरूसँग कुराकानी गरेर यससँग जोडिएका प्रश्‍नको जवाफ खोज्‍ने प्रयास गरेको छ।

अन्तरिक्षलाई बिट बनाएर पत्रकारिता गरिरहेकी सराह क्रुडासको भनाइमा चन्द्रमामा उत्खनन्बाट मानिसलाई मंगल ग्रहसम्मको यात्रा तय गर्न सहज हुन सक्छ। ‘चन्द्रमाले अन्तरिक्षमा एक पेट्रोल स्टेसनको काम गर्न सक्छ,’ उनी भन्छिन्, ‘किनकि, चन्द्रमामा रकेट इन्धनका लागि आवश्‍यक हाइड्रोजन र अक्सिजन उपलब्ध छन्।’

त्यसको अर्थ अन्तरिक्षमा इन्धनको चिन्ताबिना नै रकेट त्यसभन्दा अगाडि बढ्न सक्षम हुने क्रुडास बताउँछिन्। सबैकुरा रकेटमै बोकेर जानु नपर्ने अवस्थाले अन्तरिक्षको यात्रा सहज बनाउने उनको भनाइ छ। भन्छिन्, ‘चन्द्रमाको गहिराइमा खोजी गर्नु निकै महत्वपूर्ण छ, जसबाट पृथ्वीलाई ठूलो लाभ हासिल हुन सक्छ।’

युनिभर्सिटी अफ ससेक्सको ऊर्जा नीति विभागका प्राध्यापक बेन्जामिन सावाकुलको भनाइमा जलवायु परिवर्तनका कारण उत्पन्न ऊर्जा संकट समाधानका लागि अन्तरिक्षमा उपलब्ध खनिज पदार्थ उपयोगी हुन सक्छन्।

‘पृथ्वीमा उपलब्ध खनिज पदार्थ मानिसले लगभग दोहन गरिसकेको छ, अन्तरिक्षमा उपलब्ध खनिज पदार्थ उत्खननका लागि विद्युतीय कारहरू बनाउन सकिनेछ,’ उनी भन्छन्, ‘यो दीर्घकालीन हिसाबबाट हाम्रो पर्यावरणका लागि लाभदायक हुन सक्छ।’

मानिसलाई लिथियम, कोबाल्टजस्ता खनिज पदार्थको आवश्‍यक रहेको उनको बुझाइ छ। हाल चीन, रुस, कंगोलगायत मुलुकमा ती पदार्थ पाइन्छन्। ती देशमा खनिज पदार्थ उत्खननका लागि अलग-अलग कानुन छन्, जसले सजिलै त्यस्ता पदार्थ अन्य मुलुकको पहुँचमा हुँदैनन्। ‘चन्द्रमामा उत्खनन् गर्ने हो भने सबैका लागि सहज हुनेछ,’ उनी भन्छन्।

अन्य मुलुकमा उपलब्ध खनिज पदार्थमा पहुँच कमजोर भएकाले अमेरिकी राष्‍ट्रपतिको ध्यान अन्तरिक्षतिर मोडिएको विश्‍लेषकहरूको भनाइ छ।

‘खनिज उत्खननमा अमेरिका पछाडि परिसकेको छ, चीन, रुसलगायत मुलुक अगाडि बढिसकेका छन्,’ प्राध्यापक बेन्जामिन भन्छन्, ‘ट्रम्पजस्ता मानिस चीनको उपस्थिति नरहेका क्षेत्रबाट खनिज पदार्थ प्राप्त गर्न चाहन्छन्, जस्तो कि अन्तरिक्ष।’

आफ्नो प्रभुत्व र नेतृत्व प्रमाणित गर्ने अवसरका रूपमा ट्रम्पले यसलाई लिएको हुन सक्ने बेन्जामिनको विश्‍लेषण छ।

जानकारहरूका अनुसार अन्तरिक्षमा उत्खननका लागि अन्तर्राष्‍ट्रिय कानुनहरू आकर्षित हुँदैनन्। तर, केही वर्षभित्रै यो सम्भव छ कि छैन भन्ने कुरामा विज्ञहरू अनभिज्ञता प्रकट गर्छन्।

प्रतिक्रिया दिनुहोस्