नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

काठमाडौं। नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षममा पूर्वसचिव सुशिल घिमिरे नियुक्त भएका छन्।

२ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

यसअघिका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि निगमको नेतृत्वदायी पद खाली थियो।

“भर्खरै पर्यटन मन्त्रीको सचिवालयबाट फोन आएको थियो। तपाई निगमको कार्यकारी अध्यक्ष नियुक्त हुनुभएको छ। आफ्नो तयारी गरेर बस्नुस भन्नुभएको छ”, घिमिरेले भने। घिमिरे चार वर्षका लागि निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्।

यसअघि निगमको सञ्चालक समितिको अध्यक्षमा पर्यटन मन्त्रालयका सचिव रहने व्यवस्थालाई परिवर्तन गर्दै कार्यकारी अध्यक्ष नियुक्ति भएको थियो।

स्वर्गीय रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुँदा प्रधानमन्त्री केपी ओलीले खरेलाई कार्यकारी अध्यक्ष नियुक्तिको प्रस्ताव ल्याउन लगाएर नियुक्ति दिलाएका थिए।

वर्तमान संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई र खरेलको ट्युनिङ मिल्न नसकेपछि खरेलले निगमको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर अस्ट्रेलिया गएका छन्।

मन्त्री भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार खरेलले काम गर्न नसकेको बताउँदै आएका थिए।

पर्यटन मन्त्री याेगेश भट्टराईले घिमिरेकै संयाेजकत्वमा निगम सुधार कार्यदल बनाएका थिए। १ असाेजमा उक्त कार्यदलले प्रतिवेदन मन्त्रीलाई बुझाएकाे थियाे। पर्यटन सचिव हुँदा घिमिरेले १८ महीना नेपाल वायुसेवा निगमकाे सञ्चालक समितिकाे अध्यक्षकाे जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्