राजपाले भन्यो- सीमामा थप कडाइ गरौं

काठमाडौं। राष्‍ट्रिय जनता पार्टी (राजपा)ले कोभिड-१९ को संक्रमण थप बढ्न नदिन खुला सिमानामा थप कडाइ गर्न सरकारसँग आग्रह गरेको छ।

छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको सन्दर्भमा खुला सिमानामा थप कडाइ आवश्यक देखिएको राजपाको ठहर छ। ‘व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी आवतजावतलाई कडाइका साथ रोक्नुपर्छ,’ पार्टी संयोजक शरतसिंह भण्डारीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

लम्ब्याइएको लकडाउनलाई अझ प्रभावकारी बनाउन राजपाले सरकारलाई सुझाव पनि दिएको छ। काठमाडौंबाट ठूलो संख्यामा मानिस आ-आफ्नो जिल्लातिर गइरहेको, कतिपय ठाउँमा झडपको स्थिति सिर्जना भएको र स्थानीय स्तरमा त्रास बढेको सन्दर्भमा उचित समाधान खोज्न राजपाले आग्रह गरेको छ।

यस्तै, काठमाडौं उपत्यकालगायत देशका विभिन्‍न भूभागमा फसेका नागरिकलाई खान, बस्न गाह्रो हुँदै गएकाले सम्बन्धित वडामार्फत राहतको व्यवस्था मिलाउन पनि राजपाले आग्रह गरेको छ।

संक्रमितको संख्या बढिरहेको सन्दर्भमा उनीहरूसँग प्रत्यक्ष जोडिने स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने सहज उपायको खोजी गर्न राजपाले सुझाएको छ।

‘यो महामारीबाट जोगिन सिंगो देश एक ठाउँमा उभिनुपर्ने भएकाले लकडाउनको नियम जिम्मेवारी साथ पालना गर्न सबैलाई अपिल गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्