औषधि व्यवस्था विभागले अनुगमन थालेपछि २० कम्पनीले लिए स्यानिटाइजर उत्पादनको अनुमति
काठमाडौं। स्यानिटाइजर उत्पादनका लागि २० कम्पनीले औषधि व्यवस्था विभागबाट अनुमति लिएका छन्।

विषाक्त रसायनयुक्त स्यानिटाइजर बजारमा गएपछि औषधि व्यवस्था विभागले अनुगमन शुरू गरेको थियो। त्यसपछि विभागमा दर्ता हुने उद्योगको संख्या बढेको हो।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार हाल २० कम्पनीले जेल मिसाइएको र नमिसाइएको गरी दुई प्रकारका स्यानिटाइजर उत्पादनको अनुमति लिएका हुन्।

अनुमति लिएका सबै उद्योगले उत्पादन थालेपछि बजारमा स्यानिटाइजरको अभाव पनि हट्दै गएको छ।

कोभिड-१९ महामारी विश्वभर फैलिएपछि नेपाली बजारमा पनि स्यानिटाइजरको माग निकै बढेको छ।

तर, मागबमोजिमको उत्पादन र आयात नहुँदा बजारमा स्यानिटाइजरको अभाव बढेको थियो।

औषधि व्यवस्था विभागबाट अनुमति लिएका कम्पनीहरूले विभागले बनाएको मापदण्डअनुसार ५० मिलिलिटरदेखि पाँच हजार मिलिलिटरसम्मका स्यानिटाइजर उत्पादन गर्दै आएका छन्।

सबै उद्योग स्वदेशी

विभागबाट अनुमति लिएका स्यानिटाइजर उत्पादन गर्ने उद्योग स्वदेशी लगानीको भएको सूचना अधिकारी सन्तोष केसीले बताए।

“स्वदेशी लगानीमै स्थापना भएका उद्योगमध्ये अधिकांशले स्वदेशकै कच्चा पदार्थ प्रयोग गर्दै आएका छन्”, केसीले भने।

विभागसँग उत्पादनको अनुमति लिएका २० उद्योगमध्ये १२ ओटा उद्योगले जेल नमिसाएको (सोलुसन) स्यानिटाइजर उत्पादन गर्दै आएका छन्।

त्यसैगरी, ६ उद्योगले जेल मिसाइएको र दुई उद्योगले दुवै प्रकारका स्यानिटाइजर उत्पादन गर्दै आएका छन्।

दैनिक १० हजार बोतल उत्पादन गर्दै सरकारी कम्पनी

नेपाल औषधि लिमिटेडले विगत एक महीनादेखि दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै आएको छ।

कम्पनीले हालसम्म जेल नमिसाइएको झण्डै एक लाख बोतल स्यानिटाइजर बजार पठाइसकेको कम्पनीका महाप्रबन्धक विजयरत्न बज्राचार्य बताउँछन्।

नेपाल औषधि लिमिटेडको दैनिक १०० मिलिलिटरका २० हजार बोतल स्यानिटाइजर उत्पादन क्षमता छ। कम्पनीले भने दैनिक १० हजार बोतल मात्रै स्यानिटाइजर उत्पादन गर्दै आएको छ।

लकडाउनको कारण समयमा कर्मचारी आउन नसक्ने र कच्चा पदार्थको पनि अभाव भएका कारण उत्पादन क्षमताभन्दा ५० प्रतिशत कम मात्रै उत्पादन भइरहेको बज्राचार्यले बताए।

क-कसले लिए उत्पादनको अनुमति ?

१. नोभा जेनेटिक
२. एमडीएच फर्मास्युटिकल्स
३. प्राइम फर्मास्युटिकल्स
४. एभरेष्ट फर्मास्युटिकल्स
५. एरो फर्मास्युटिकल्स
६. सीआईटी फर्मास्युटिकल्स
७. एसआर ड्रग ल्याब्रोटरी
८. टाउरुस फर्मा
९. नेश्नल हेल्थ केयर
१०. रोडोडेन्ड्रन बायोटिक
११. क्यूरेक्स फर्मास्युटिकल्स
१२. आर्य फर्मा
१३. टाइम फर्मास्युटिकल्स
१४. समि फर्मास्युटिकल्स
१५. बायोजिन रिमाइन्डस
१६. नेपाल फर्मास्युटिकल्स ल्याब्रोटरी
१७. भाष्कर हर्बस्युटिकल्स
१८. नेपाल औषधि लिमिटेड
१९. सुप्रिम हेल्थकेयर
२०. डाबर नेपाल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्