शिक्षण अस्पतालका चिकित्सक प्रहरीबाट कुटिएको घटनाको छानबिन शुरू

काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत् तीनजना चिकित्सक प्रहरीबाट कुटिएको विषयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन शुरू गरेको छ।

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।

तीन सदस्यीय छानबिन समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी सदस्य रहेका छन्।

“कार्यालयले छानबिन अघि बढाइसकेको छ। समिति बनाएका छौं।”, उनले भने, “घटना के भएको हो त्यसको सत्यतथ्य बुझेर प्रतिवेदन दिन भनिएको छ।”

डिआइजी पोखरेले अनुसन्धानपछि घटनामा दोषी ठहरिएका प्रहरी कर्मचारीलाई कारवाही गरिने बताएका छन्।

हिजो, ३ वैशाख बेलुका अस्पतालबाट ड्युटी सकेर फर्कने क्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएका प्रहरीले तीनजना चिकित्सकलाई लाठी प्रहार गरेको चिकित्सकले आरोप लगाएका छन्।

राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति निकालेर हातपात र लाठी प्रहार गर्ने प्रहरीमाथि कारवाहीको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्