युरोपमा थामिएन कोरोनाको कहर, अमेरिकामा २४ घण्टामा झन्डै २५ सयको मृत्यु

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वभर मृत्यु भएकाको संख्या एक लाख ३४ हजार नाघेको छ। संक्रमितको संख्या २० लाख ८४ हजार नाघेको छ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कोरोना भाइरसबाट संक्रमित भएका र मृत्यु भएका सबैभन्दा धेरै अमेरिकामा छन्। जहाँ ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन्। २८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ। बितेको चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो।

कोरोना भाइरसको अधिक चपेटामा परेकामा इटाली र स्पेन पनि रहेका छन्। इटालीमा २१ हजार भन्दा बढीको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या एक लाख ६५ हजार नाघेको छ।

स्पेनमा १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ। संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १६७ जना र बेलायतमा १२ हजार ८६८ जनाको मृत्यु भएको छ।

बेल्जियममा ४ हजार ४४० जना, जर्मनीमा ३ हजार ८०४ जना, नेदरल्यान्ड्समा ३ हजार १३४ जना, स्वीट्जरल्यान्डमा एक हजार २३९ जना र स्वीडेनमा एक हजार २०३ जनाको मृत्यु भएको छ।

यता छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ४५६ पुगेको छ। त्यहाँ एक हजार ५१३ जना उपचारपछि निको भएका छन्। ४२२ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा संक्रमित भएका र मृत्यु भएकाको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ। लकडाउन नगर्ने अडान राख्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोकेका छन्।

परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाएका छन्। तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद छ।

प्रतिक्रिया दिनुहोस्