पाकिस्तानलाई एक अर्ब ३० करोड डलर आपतकालीन सहायता दिने आईएमएफको निर्णय

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायता अनुमोदन गरेको छ।

कोषद्वारा जारी विज्ञप्तिमा महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको उल्लेख छ।

कोभिड-१९ बाट पाकिस्तानको अर्थतन्त्र चालू आर्थिक वर्षमा १.५ प्रतिशतले संकुचित हुनसक्ने अनुमान गरिएको छ ।

कोषको विज्ञप्तिमा भनिएको छ, “कोभिड-१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा ठूलै असर सिर्जना गर्दैछ। विश्वव्यापी मन्दीको साथसाथै पाकिस्तान सरकारले अवलम्बन गरेका रोकथामका उपायहरूले अर्थतन्त्रको वृद्धिमा गम्भीर दूस्परिणाम निम्त्याएको र बाह्य भुक्तानी सन्तुलनमा तनावको वातावरण सिर्जना गरेको छ। यसले भुक्तानीको सन्तुलनका लागि तत्काल आर्थिक सहायता जरुरी भएको देखिएको छ ।”

कोविड-१९ महामारी आउनुअघि नै पाकिस्तान सरकारले कोषसँग भुक्तानी सन्तुलनमा सिर्जित समस्या सुल्झाउन ठूलो आर्थिक सहायताको माग गरेको थियो।

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजारभन्दा बढी भइसकेको छ भने १३४ जनाको ज्यान गएको छ ।

पाकिस्तान सरकारले १२ खर्ब पाकिस्तानी रूपैयाँको एक राहत प्याकेज २४ मार्चमा घोषणा गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्