जोखिम बढेपछि सुदूरपश्चिम र प्रदेश २ मा चिकित्सकसहित स्वास्थ्यकर्मीको थप टोली पठाइदै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेश र प्रदेश २ मा चिकित्सकसहित स्वास्थ्यकर्मीहरुको टोली पठाउन लागेको छ।

कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाउन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तुलनात्मक हिसाबले जोखिम मानिएका यी प्रदेशमा चिकित्सकसहितको टोली पठाउन लागिएको देखापढीलाई बताए।

आजै दिउँसो १ बजे यती एअरलाइन्सको जहाजमा ३३ जना स्वास्थ्यकर्मीहरूको टोली आउन लागेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

“यहाँ चिकित्सकसहित स्वास्थ्यकर्मीहरुको अभाव थियो। हामीले मन्त्रालयलाई व्यवस्थापनका लागि भनेका थियौं”, उनले देखापढीसँग भने, “कोभिड १९ को उपचार सेवाका लागि भनेर उहाँहरु आउन लाग्नु भएको हो।”

चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत् ३४ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ जना चिकित्सक खटाउन लागिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५ जना र प्रदेश २ को नारायणी प्रादेशिक अस्पतालमा ४ जना कोभिड-१९ का बिरामीहरु उपचाररत् छन्।

मन्त्रालयले केहीदिन अघि सातवटै प्रदेशमा चिकित्सकसहित स्वास्थ्यकर्मीको जनशक्तिको अवस्था बुझ्न र आवश्यक ठाउँमा खटाउने निर्णय गरेको थियो।

सातवटै प्रदेशमा मन्त्रालयले ११ औं तहको चिकित्सक टोली पठाएर सबै प्रदेशको स्वास्थ्य जनशक्ति र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न टोली गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्