घर हिँडेकालाई मुख्यमन्त्री पोखरेलको आग्रह - 'सबै क्वारेन्टाइनमा बसिदिनुस्, खानेबस्ने व्यवस्था छ'

रुपन्देही। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत अपील गर्दै उनले कोरोना भाइरसको संक्रमणको जोखिम हुने भन्दै नजिकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन्।

“घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनुहोला, त्यहाँ खानेबस्ने व्यवस्था छ ”, उनले लेखेका छन्।

लकडाउन लम्बिरहँदा मुलुकका विभिन्न ठाउँमा रहेका नागरिक पैदल हिँडेर आ-आफ्ना घरतर्फ जानेक्रम नरोकिएपछि मुख्यमन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन्।

काठमाडौंलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा र प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन्। तीनमा अधिकांस मजदूर छन्।

३० चैतमा रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो। उनीहरु लामो बाटो दिनरात पैदल हिँडेर यहाँ आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्