सर्वेक्षण भन्छः 'लम्बिँदो लकडाउनले मनोसामाजिक समस्या देखिन थाल्यो'
काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ सँग जुध्न सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) अहिले चौंथो साता पुगेको छ। तेस्रोपटक थपिएको अवधिअनुसार आउँदो १५ बैशाखसम्म लकडाउन कायम रहनेछ। संक्रमणको जोखिम कम नभएकाले लकडाउन त्यसपछि पनि लम्बिन सक्छ।

संसारभर कोभिड-१९ सँग जुध्ने सबभन्दा प्रभावकारी हतियार बनेको छ, एकापसमा भौतिक दूरी कायम गर्नु। र, त्यसकै सबभन्दा प्रभावकारी माध्यम हो लकडाउन। तर, लकडाउन लम्बिँदै जाँदा नेपालीमा विभिन्न मनोसामाजिक समस्या पनि देखापर्न थालेका छन्।

गतसाता सर्वेक्षणविज्ञ रमेश अधिकारी र उनको टोलीले गरेको कोरोनाका कारण मानसिक प्रभावसम्बन्धी सर्वेक्षणको नतिजाले सर्वेक्षणमा सहभागीमध्ये बहुसंख्यक उत्तरदाता कुनै न कुनै प्रकारको मनोसामाजिक समस्याबाट प्रभावित बनेको देखाउँछ। शेयरकाष्ट इनिसियटिभ नेपालले गतसाता गरेको सर्वेक्षण यही टोलीले गरेको थियो। सर्वेक्षणका क्रममा सोधिएको एउटा प्रश्न थियोः गएको दुइ हप्तामा तपाईं एक वा सोभन्दा बढी मनोसामाजिक समस्याहरु (बेचैनी हुने, डराएको महशुस हुने, उदास वा दिक्दारी महशुस हुने) बाट कत्तिको प्रभावित हुनुभयो?

यो प्रश्नमा सबभन्दा धेरै ४२ प्रतिशत उत्तरदाताले यीमध्ये आफूमा कम्तीमा एक समस्या रहेको उत्तर दिए। २६ प्रतिशत उत्तरदाताले त आफूमा दुई वा दुईभन्दा बढी समस्या नै रहेको बताए। कूल मिलाएर ३२ प्रतिशत उत्तरदाताले मात्र यस्तो समस्या नभएको बताए। ३ देखि १० अप्रिलसम्म गरिएको सर्वेक्षणमा कूल एक हजार ५०७ उत्तरदाता सहभागी थिए।

सर्वेक्षणका क्रममा विभिन्न खाले मनोसामाजिक समस्याबारे छुट्टाछुट्टै प्रश्नसमेत सोधिएको थियो। पछिल्लो दुई सातामा अहिलेको परिस्थितिको कारण कत्तिको बेचैन हुनुभयो? भनेर सोधिएको प्रश्नमा २० प्रतिशत उत्तरदाताले सँधैजसो बेचैन भएको उत्तर दिएका छन्। त्यसैगरी ६३ प्रतिशतले कहिलेकाहीँ बेचैन भएको बताएका छन् भने कहिले पनि बेचैन नभएको बताउने १७ प्रतिशत मात्र छन्। अर्थात्, महामारी र लकडाउनले धेरैमा बेचैनी बढाएको देखिन्छ।

पछिल्लो परिस्थितिबारे सोच्दा कत्तिको डराएको महशुस गर्नुभयो? भन्ने अर्को प्रश्नमा २४ प्रतिशत उत्तरदाताले सँधै डराएको बताए। त्यसैगरी ६२ प्रतिशतले कहिलेकाहीँ डराएको उत्तर दिए भने १४ प्रतिशतले मात्र नडराएको बताए।

धेरै नेपाली आफू र परिवारलाई लिएर समेत चिन्तित देखिएका छन्। पछिल्लो दुई सातामा तपाईं आफू र आफ्नो परिवारको विषयमा कत्तिको चिन्तित हुनुभयो? भन्ने प्रश्नमा २४ प्रतिशतले सँधैजसो चिन्तित भएको उत्तर दिए। ६० प्रतिशतले कहिलेकाहीँ चिन्तित भएको उत्तर दिए भने १७ प्रतिशतले मात्र चिन्तित नभएको बताए।

चिन्तित रहे पनि रक्सी वा अन्य लागू पदार्थको प्रयोगमा भने धेरैको रुचि देखिएन। पछिल्लो दुई हप्तामा तपाईंले रक्सी र अन्य लागूपदार्थको प्रयोग गर्नुभयो? भन्ने प्रश्नमा ८५ प्रतिशत उत्तरदाताले त्यस्ता पदार्थ प्रयोग नगरेको बताए। १५ प्रतिशतले मात्र प्रयोग गरेको छु भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्