मानवअधिकार आयोगले भन्यो- स्वास्थ्यकर्मी र सर्वसाधारणलाई दुर्व्यवहार नगर

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले लकडाउन पालना गराउने क्रममा स्वास्थ्यकर्मी र सर्वसाधारणसँग मर्यादित व्यवहार गर्न सुरक्षा निकायसँग आग्रह गरेको छ।

आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो। ‘लकडाउनको अवस्थामा नेपाल सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्दा-गराउँदा स्वास्थ्यकर्मी, पत्रकार, मानव अधिकारकर्मी तथा सर्वसाधारणप्रति संयमित र मर्यादित व्यवहार गर्न आयोग आग्रह गर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारले जनस्वास्थ्यको संकटको अहिलेको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरूको मनोबल गिर्ने कुरामा आयोगले सचेत गराएको छ।

‘त्यस्तो कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्‍चितता, दोषी प्रहरीलाई कानुनबमोजिम कारवाही, घाइतेहरूको निःशुल्क उपचार र सम्पूर्ण प्रहरीहरूलाई संयमित भई कार्य गर्न आयोग आग्रह गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

आयोगले त्रिवि शिक्षण अस्पतालका तीन चिकित्सकमाथि प्रहरी टोलीले गरेको कुटपिट र दुर्व्यवहार, सुनसरीमा बिरामीको उपचार गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट, काठमाडौं कलंकीमा औषधी किनेर फर्किएका व्यक्तिलाई कुटपिट, सप्तरीमा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि अमानवीय ढंगले कुटपिट तथा बैतडी, दार्चुलालगायत जिल्लामा प्रहरीले सर्वसाधारणमाथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्