भारतमा केन्द्रीय बैंकले ल्यायो ५० हजार करोड भारूको आर्थिक प्याकेज

काठमाडौं। भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ५० हजार करोड भारतीय रूपैयाँको आर्थिक तथा वित्तीय प्याकेज सार्वजनिक गरेको छ।

कोभिड-१९ को दुष्प्रभावबाट ग्रस्त भारतको वित्तीय क्षेत्रलाई राहत दिने गरी आज आरबीआईले आर्थिक तथा वित्तीय प्याकेज घोषणा गरेको हो।

राहत प्याकेज सार्वजनिक गर्दै आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना दुष्प्रभावको कारण भारतीय अर्थतन्त्रमा ९.९ ट्रिलियन डलर बराबरको नोक्सान भएको अनुमान रहेको बताए।

आरबीआईले राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक, नेशनल हाउजिङ बैंक र स्मल इण्डस्ट्री डेभलपमेन्ट बैंकलगायतका संस्थाका लागि ५० हजार करोड भारतीय रूपैयाँको रि-फाइनानान्सिङ दिने घोषणा गरेको छ।

जसअनुसार, राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकलाई २५ हजार करोड, स्मल इन्डस्ट्री डेभलपमेन्ट बैकलाई १५ हजार करोड र नेसनल हाउजिङ बैकलाई १० हजार करोड भारतीय रूपैयाँ दिइने भएको छ।

आरबीआईले रिभर्स रिपो दर पनि ०.२५ प्रतिशतले घटाएको छ। भारतमा रिभर्स रिपो रेट घटेर ३.७५ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्