कोभिड-१९ सँग जुध्न सरकारले गरेको काम र पार्टीको योगदानबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पदाधिकारी बैठक केही बेरमा सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

साथै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिक रूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा समेत बैठकमा छलफल हुने बताइएको छ।

कोभिड-१९ को जोखिम रोक्न ११ चैतमा लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक दोस्रो पटक बस्न लागेको हो।

यसअघि २५ चैतमा बैठक बसेको थियो ।

नेपाली कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रूपमा उपस्थित छन्। रासस

प्रतिक्रिया दिनुहोस्