१२ संक्रमित भेटिएको उदयपुरको भुल्के बस्ती सिल गरेर तीन हजारको 'मास टेष्ट' गरिने

काठमाडौं। कोभिड-१९ का १२ जना नयाँ बिरामी भेटिएपछि उदयपुरको भुल्के क्षेत्रका करीब तीन हजार जनसंख्याको र्‍यापिड डायग्‍नोष्‍टिक टेष्‍ट (आरडीटी) विधिबाट परीक्षण गरिने भएको छ।

केही बेरअघि सकिएको जिल्लास्तरीय कोभिड-१९ द्रुत उत्तरदायी संयन्त्रको बैठकले आजैदेखि बस्ती सिल गरेर मास परीक्षण गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।

"प्रदेश सरकारसँग समन्वय गरेर विराटनगर प्रयोगशालाबाट किटसहितको प्राविधिक टोली मगाएका छौं। भोलीसम्म परीक्षण सकिने गरी जनशक्ति परिचालन गरिनेछ", सुवेदीले देखापढीसँग भने।

जिल्ला अस्पतालको ल्यावमा भएका दुई र विराटनगरबाट आउने तीन गरी पाँचजना प्राविधिकहरू आरडिटी परीक्षणमा प्रत्यक्ष सहभागी हुनेछन्।

उनका अनुसार एक समूहमा १५/२० जनाको दरले नमूना परीक्षण गरिनेछ।

त्यस वडाका अध्यक्ष अवधेशकुमार चौधरीले आज दिउँसो १ बजेदेखि नमूना परीक्षणको लागि तयारी थालिएको जानकारी दिए। उनका अनुसार शुरूमा भुल्के बस्तीका करीब ३५० घरका सबैजनाको किटबाट कोभिड-१९ को परीक्षण गरिनेछ।

त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा रहेका ११ भारतीय र एकजना नेपाली नागरिक गरी कूल १२ जनामा हिजो कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार ३४, २९, २६, २२, २५, २०, ४०, २९ र चारजना २८ वर्षका उनीहरू सबै पुरुष छन्।

कोभिड-१९ देखिएका सबैजना विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत् छन्।

सँगै मस्जिदमा रहेका चारजनाको भने रिपोर्ट नेगेटिभ देखिएको छ। उनीहरूलाई पनि हिजो संक्रमितसँगै एम्बुलेन्समा लगेर विराटनगर क्वारेन्टाइनमा राखिएको छ।

लकडाउनअघि नै भारतबाट नेपाल छिरेका उनीहरू मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर आएको खुलेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्